काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार आफैँ निर्वाचन बिथोल्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै उनले सरकारले चुनाव गराउन इच्छुक नरहेको संकेत विभिन्न घटनाक्रमबाट देखिएको दाबी गरे ।
उपमहासचिव महासेठले जेनजी आन्दोलनपछि लुटिएका हतियार र फरार भएका कैदीबन्दी अझै फिर्ता नआउनु गम्भीर विषय भएको उल्लेख गरे ।
उनका अनुसार लुटिएका हजारौँ सुरक्षाकर्मीका हतियारमध्ये ५० प्रतिशतभन्दा कम मात्र फिर्ता भएका छन् भने भागेका कैदीबन्दीमध्ये बहुसंख्यक अझै बाहिर नै छन् । यस्तो अवस्थामा निष्पक्ष र सुरक्षित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उनले उठाए ।
उनले भने, ‘२३ र २४ गते लुटिएका हजारौँ सुरक्षा निकायका हतियार अझै बाहिर छन्, कैदीहरू पनि बाहिर छन् । यस्तो स्थितिमा चुनाव कसरी गराउन सकिन्छ ? बाहिर रहेका हतियार र कैदी कसको विरुद्ध प्रयोग हुन्छन् भन्ने गम्भीर छलफलको विषय हो ।’
महासेठले नेकपा (एमाले) निर्वाचनबाट भाग्ने पार्टी नभएको स्पष्ट गर्दै जुनसुकै बेला पनि चुनावमा सहभागी हुन तयार रहेको बताए । तर, संविधानको मर्म र विगतमा स्थापित नजिरअनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निर्णय गर्नुपर्ने उनको जिकिर थियो ।
‘संसद विघटनपछि सर्वोच्च अदालतले जुन नजिर स्थापित गरेको थियो, त्यही नजिर फेरि पनि कायम हुनुपर्छ,‘उनले भने, ‘हामी सम्माननीय सर्वोच्च अदालतको आदेश पर्खिरहेका छौँ। चुनाव भएमा एमाले चुनावमा सहभागी हुन्छ ।’
उपमहासचिव महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्रसहितको संविधानको रक्षाका लागि नेकपा (एमाले) कांग्रेससँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया