अमेरिकी महान्यायाधिवक्ताको दाबी : मादुरोले छिट्टै अमेरिकी अदालतमा मुद्दाको सामना गर्नेछन्

लोकपथ
224
Shares

काठमाडौं । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अदालतमा पेस गरिने बताएकी छन् । 

तेलले धनी दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट मादुरोलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएपछि बोन्डीको भनाइ सार्वजनिक भएको हो ।

बोन्डीले सामाजिक सञ्जालमार्फत मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग दर्ता गरिएको जानकारी दिएकी छन् । उनका अनुसार मादुरोमाथि लागुऔषध–आतंकवादसम्बन्धी षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन तथा विनाशकारी हतियार राखेको, र ती हतियार संयुक्त राज्य अमेरिका विरुद्ध प्रयोग गर्ने षड्यन्त्रजस्ता गम्भीर आरोप लगाइएको छ ।

अमेरिकी रिपब्लिकन सिनेटर माइक लीका अनुसार विदेशमन्त्री मार्को रुबियोले फोनमार्फत मादुरो पक्राउ परेको र उनीमाथि अमेरिकामा फौजदारी अभियोगमा मुद्दा चलाइने जानकारी दिएका थिए । लीले उक्त कारबाही अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकार क्षेत्रभित्र पर्ने दाबी गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाको ठुलो स्तरको आक्रमणका बिच मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको घोषणा गरेका थिए । तर भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सरकारी टेलिभिजनमार्फत मादुरो र उनकी पत्नीको अवस्था अज्ञात रहेको बताउँदै ट्रम्पसँग उनीहरू जीवितै रहेको प्रमाण सार्वजनिक गर्न माग गरेकी छन् ।

लामो समयदेखि अमेरिकाले क्यारिबियन क्षेत्र र भेनेजुएलाको समुन्द्री तटमा आफ्नो सैन्य उपस्थिति बढाउँदै आएको छ । अमेरिकाले यसलाई लागुऔषध तस्करीविरुद्धको अभियान बताउँदै आएको भए पनि भेनेजुएलाले भने यसलाई राजधानी काराकासमा सत्ता परिवर्तन गराउने षड्यन्त्रको रूपमा निन्दा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?