भेनेजुएलामाथि अमेरिकी कारबाही अपराधपूर्ण : झलनाथ खनाल

लोकपथ
343
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई अपराधपूर्ण र अन्तर्राष्ट्रिय कानूनविपरीत भएको बताएका छन् ।

खनालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गतको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि १५० लडाकु विमान प्रयोग गरी नाङ्गो र क्रूर आक्रमण गरेको आरोप लगाएका हुन् । 

उक्त आक्रमणमा कैयौँ निर्दोष नागरिक र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको दाबी उनले गरेका छन् ।

उनले यसलाई भेनेजुएलाको सार्वभौम सत्तामाथिको ठाडो उल्लङ्घन र अन्तर्राष्ट्रिय कानूनविपरीतको कार्य भएको बताएका छन् ।

‘यो भेनेजुएलाको सार्वभौम अधिकारमाथि गरिएको खुला हस्तक्षेप हो । अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने यस्तो कारबाही अस्वीकार्य छ,‘विज्ञप्तिमा उल्लेख छ । 

उनले आफ्नो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट उक्त अमेरिकी कारबाहीको तीव्र विरोध गरेको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?