कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य बन्यो : अर्जुननरसिंह केसी

लोकपथ
756
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतान्त्रिक पद्धतिको आत्मा विधिको शासन भएको उल्लेख गर्दै पार्टीभित्र विशेष महाधिवेशन अब अपरिहार्य आवश्यकता बनेको बताएका छन् ।

लोकतन्त्रमा राज्य, राजनीतिक दल वा संस्थाका सबै निर्णय र गतिविधि विधान, नियमावली तथा स्थापित प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले केन्द्रीय तहदेखि तल्लो तहसम्म नियमित अधिवेशन, बैठक, समीक्षा र आत्ममूल्याङ्कनको प्रणालीलाई संस्थागत र निरन्तर बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

निर्णय प्रक्रिया व्यक्ति, गुट वा भागबण्डामा केन्द्रित नभई विचार, बहस, सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेता केसीले आर्थिक कारोबार, नियुक्ति र टिकट वितरणजस्ता संवेदनशील विषयमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता सुनिश्चित गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनु लोकतान्त्रिक पार्टीको अनिवार्य शर्त भएको बताए ।

यही पृष्ठभूमिमा वर्तमान राजनीतिक परिवेशमा नेपाली कांग्रेसको विशेष महाधिवेशन समयसापेक्ष आवश्यकता बनेको उनको तर्क छ। विशेष महाधिवेशनको विषयमा भइरहेको अपव्याख्याप्रति संकेत गर्दै उनले पार्टी विधानले यसबारे स्पष्ट मार्गनिर्देशन गरेको स्मरण गराए । कांग्रेस विधानको धारा १७ (२) अनुसार केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष कारणसहित केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने बाध्यात्मक व्यवस्था रहेको उनले बताए । साथै धारा ३ (१२) र २७ (१) ले केन्द्र र केन्द्रीय कार्यालयसम्बन्धी अधिकार क्षेत्रसमेत स्पष्ट गरेको उनको भनाइ छ ।

देश जटिल राजनीतिक संक्रमणको चरणमा रहेको उल्लेख गर्दै केसीले २०८२ फागुनमा हुने आम निर्वाचनको तयारी, भ्रष्टाचारविरुद्धको जनआन्दोलन, विधिको शासन र सुशासनको माग, साथै युवा र आम नागरिकमा देखिएको चरम असन्तुष्टिलाई सम्बोधन गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए । निर्वाचनअघि नै नयाँ सोच, नीति, नेतृत्व र कार्यक्रमसहित जनतामाझ जान नसके यथास्थितिमा रहनु आत्मघाती हुने चेतावनीसमेत उनले दिएका छन् ।

नेपाली कांग्रेसलाई पुनः समयसापेक्ष, विश्वसनीय र सशक्त लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न विधानको पालना गर्दै विशेष महाधिवेशन अनिवार्य रहेको उनको निष्कर्ष छ। सबै महाधिवेशन प्रतिनिधिलाई विशेष अधिवेशनमा सहभागी भई सहमतिमै निकास खोज्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?