काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै अमेरिकोले भेनेजुएला विरुद्ध ठुलो सैन्य कारबाही गरेको र राष्ट्रपति मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरी देशबाट बाहिर निकालिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र त्यहाँका नेता राष्ट्रपति निकोलस मादुरो विरुद्ध ठुलो कारबाही सफलतापूर्वक सम्पन्न गरेको छ ।’
यसअघि सन् १९८९ मा पानामाका सैन्य शासक म्यानुएल नोरिएगालाई हटाउन अमेरिकोले त्यहाँ आक्रमण गरेको थियो । त्यसपछि ल्याटिन अमेरिकी क्षेत्रमा अमेरिकाको यो पहिलो ठुलो प्रत्यक्ष सैन्य हस्तक्षेप भएको दाबी गरिएको छ ।
यसैबिच, शनिबार बिहान भेनेजुएलाको राजधानी काराकास र अन्य प्रमुख सैन्य क्षेत्रमा विस्फोटका आवाज सुनिएको र धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
मादुरो नेतृत्वको सरकारले अमेरिकाले सैन्य आक्रमण गरेको भन्दै कडा निन्दा गरेको छ । साथै, देशभर राष्ट्रिय आपतकाल घोषणा गरिएको जनाएको छ ।
अमेरिकाले राष्ट्रपति मादुरोमाथि लागु औषध कारोबार (नार्को स्टेट) सञ्चालन गरेको र निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै आएको छ । तर मादुरोले भने अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार आफ्नो नियन्त्रणमा लिन यस्तो कदम चालेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया