एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन : विष्णु पौडेल

लोकपथ
259
Shares

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमै निर्वाचन हुन्छ भन्ने विषयमा अझै विश्वस्त हुन नसकिने बताएका छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सुनिश्चित नगरी निर्वाचन सफल हुन नसक्ने बताए । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउन आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सो दिशामा सरकारको ध्यान पर्याप्त नपुगेको जिकिर गरे ।

उनका अनुसार निर्वाचनसँग जोडिएका मुख्य तयारीका कामहरू प्रभावकारी रूपमा अघि नबढेकाले तोकिएकै मितिमा निर्वाचन हुने कुरामा आश्वस्त हुन कठिन भएको हो । ‘निर्वाचन तोकिएको मितिमै होस् भन्ने हाम्रो चाहना हो, तर त्यो निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ, ‘उनले भने, ‘सबै मतदाताले निर्भयताका साथ मतदान गर्न सकून् र सबै राजनीतिक दलले समान रूपमा प्रतिस्पर्धा गर्न पाउने अवस्था बन्नुपर्छ ।’

सरकारलाई निर्वाचनको तयारीलाई गम्भीरतापूर्वक अघि बढाउन आग्रह गर्दै उनले निर्वाचनसँग सम्बन्धित सबै कामहरू समयमै र व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताए ।

उपाध्यक्ष पौडेलले एमाले सधैँ निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने गरी सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?