‘सरकारले प्रविधिसम्बन्धि कानुन निर्माणमा ध्यान देओस्’

लोकपथ
63
Shares

काठमाडौं । व्यवसायीहरुले फिनटेकसम्बन्धि कानुन निर्माणमा ध्यान दिन सरकारसँग माग गरेका छन् ।ललितपुरमा नेपालमा पहिलो पटक सुरु गरिएको नेपाल फिनटेक एक्स्पोमा सहभागी भएका व्यवसायीहरुले सो माग गरेका हुन् । 

उनीहरूले फिनटेक सम्बन्धी प्रविधि भित्र्याउने विषयमा पनि ठोस नीति तत्काल बनाउन पनि सरकारलाई सचेत गराएका छन् । व्यवसायी देवेन्द्र खड्काले उपभोक्ताको हित हुने गरी सरकारले फिनटेक सम्बन्धी कानुनी र नीतिगत व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालको प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने पनि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए  । 

व्यवसायी खड्काले भने, ‘सरकारको तर्फबाट ल का कुराहरू आउनुपर्नेछ । कस्ता चिजहरू हाम्रो यहाँ अलाउ गर्ने वा नगर्ने ? भन्ने चिजहरू पनि छ । त्यस कारण सरकारले डाइरेक्टर फिनटेकको लागि भन्दा पनि नेपालको कम्जुमरलाई के चाहिएको छ ? नेपालको पिपुलको निड अनुसार ल बन्ने हो । डिमाण्डअनुसार पनि हुने हो । जस्ता राइट सेयरिङ एप मजाले जान थाल्यो, त्यो सम्बन्धी कानुन बन्यो । यसरी नै काम हुने हो ।’

व्यवसायी राजनराज पन्तले नेपाली प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि सरकारले आवश्यक वातावरण बनाउन जोड दिनुपर्ने बताए । उनले नेपालका प्रविधि सम्बन्धी व्यवसायीहरूलाई पनि सरकारले प्रोत्साहित हुने खालको नीतिगत व्यवस्था गर्नुपर्ने समेत बताए । 

व्यवसायी पन्तले भने, ‘सरकारले यस्ता एक्जिभिसनका लागि सहयोग गर्नु पर्दछ । यसको मार्केटको लागि एक्सेसहरु गरिदिनुपर्दछ । यसको इन्टरनेशनल मार्केटका लागि विदेशी दुतावासहरुमार्फत उताको भिजिटर्सहरुलाई पनि यता ल्याउन पहल गरिदिनुपर्दछ । त्यसो भयो भने यहाँको टेक्नोलोजी पनि बाहिर जान्छ नि त । कतिपय हाम्रा नेपाली दाजुभाइहरूले गरिरहेको नेपाली टेक्नोलोजी बाहिर चलिराखेको छ । सरकारले यस्तो कुरामा एक्सेस गर्ने हो, पोलिसी बनाइदिने हो । त्यो काम गर्नु पर्दछ ।’

एक्स्पोमा डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेन्ट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, एम्बेडेड फाइनान्स, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान गरिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?