बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालनमा

लोकपथ
1k
Shares

काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रबार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ । 

विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनकाअनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ । 

रनवे छोट्याएर विमान स्थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उनले जानकारी दिए । 

हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उनको भनाई छ । उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए  । उनकाअनुसार शुक्रबार राती ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उनले बताए ।  प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिए । 

उनले भने, ‘विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दाखेरि हिजो मौसमको कारणले पनि होइन, प्राविधिक कुराहरू प्राविधिकको अनुसन्धानपछि थाहा हुने कुरा भो । हाम्रो साइडबाट हेर्दा हामीले मौसमहरू हेर्ने हो । मौसम त्यतिखेर यो अवस्थामा आउने (दुर्घटना हुने) थिएन । त्यसमा केही प्राविधिक कुरा हुनसक्छ । अहिले विमानस्थल चालु छ, विमानस्थल चालु हुनलाई थोरै रिक्वारमेन्ट चाहिन्छ, हामीले हाम्रो यो जहाजको पछाडिको हाईट चाही अफ–ट्रयाकल पर्न जान्छ, यसलाई मिलाउन हामीले रनवेलाई अलिकति छोटो बनाएका छौँ । त्यो हामी पाइलटलाई जानकारी गराउँछौँ । प्रत्येक आउने, जाने जहाजलाई भन्छौँ हामी । १५ सय मिटर हो, यो । हामीले अहिले १४ सय मिटरमा यो एयरपोर्ट चलाईराखेका छौँ । १४ सय मिटर उनीहरूलाई सफिसेन्ट हुन्छ, भनेर चलाइरहेका छौँ ।’

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । 

उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । 

जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानीयहरूले यात्रुको उद्धार गरेको भद्रपूरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिए । उनकाअनुसार तीन जना यात्रु भने विमानभित्र रहेका थिए ।

दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्येको पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । 

अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?