काठमाडौं । गायक टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन् । यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो ।
चलचित्र ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए । उनका अनुसार चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।
टंक बुढाथोकीकै कथामा निर्माण हुने यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ । ‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ । त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ, ‘उनले भने, ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ ।’
चलचित्रको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत ‘बा–आमा’ बाट प्रेरित हुनेछ । पहिलो चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी कमजोरी सुधारेर अझ राम्रो चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए ।
करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत ‘बा–आमा’ कै शीर्षकमा चलचित्र निर्माण हुन लागेको हो । यसअघि पनि उनले आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन’ को शीर्षकबाट चलचित्र निर्माण गरेका थिए । ‘बा–आमा’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हुने जनाइएको छ ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘बा–आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया