गगन–विश्वलाई सहमहामन्त्री परियारको जवाफ : ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’

लोकपथ
378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको पुसभित्रै विशेष महाधिवेशन गर्ने अडानप्रति आपत्ति जनाएका छन् ।

शनिबार कांग्रेस नेता डा.शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आपत्ति जनाएका हुन । 

परियारले भने, ‘विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने कुरा महामन्त्रीहरूको व्यक्तिगत मत हो, पार्टीको निर्णय होइन ।’

उनले पार्टीभित्र बहस, विचार र विमर्श भइरहेको भन्दै अन्तिम निर्णयलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । परियारका अनुसार, पार्टीमा सबै नेताहरूको एउटै विचार नहुन सक्छ, तर पार्टीको निर्णयलाई सम्मान गर्नु आवश्यक छ । चित्त नबुझेका नेता वा कार्यकर्ताले आफ्ना मुद्दा लिएर जनताको माझमा जान सक्ने बताए ।

सहमहामन्त्री परियारले भने, ‘अब विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने सन्दर्भमा यो उहाँ (महामन्त्री) को कुरा हो । पार्टीमा विभिन्न विचार हुनसक्छ, छलफलबाट जे निष्कर्ष आउँछ, त्यही लिएर अगाडि बढ्ने हो । बहुमतले गरेको निर्णयलाई लत्त्याएर ‘मेरो निर्णय सही’ भन्नु हुँदैन ।’

यसअघि कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८–३१ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर महामन्त्रीद्वयले पुसको अन्तिमसम्म विशेष महाधिवेशन सम्पन्न गर्ने अडान लिएका छन्, जसले पार्टीभित्र विवाद उत्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?