काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगन गरेका छन् ।
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वय गगन र विश्वप्रकाशले नियमित महाधिवेशन स्थगत भएको जानकारी गराउँदै विशेष महाधिवेशनमा लाग्न आग्रह गरेका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत् स्थगन गरिएको जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै महाधिवेशनको मिति तय भइसकेपछि ५ लाख ७९ हजार ३ सय क्रियाशील सदस्यता नवीकरण भइसकेको र केही जिल्लामा नवीकरणको काम अन्तिम चरणमा पुगेको समेत जानकारी गराएका छन् । त्यसो त खोटाङ, बारा, कञ्चनपुर र कैलालीको क्रियाशील सदस्यता टुंगिएपछि कुल नवीकरण ६ लाख भन्दा बढी पुग्ने समेत बताइएको छ ।
महामन्त्रीद्वयका अनुसार यस अवघिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता ईन्ट्री भएको र अन्य जिल्ला तथा जनसम्पर्क समितिहरुबाट पनि नयाँ सदस्यता ईन्ट्रीको काम भइरहेको बताए ।
त्यस्तै नियमित महाधिवेशनको कार्यतालिका स्थगन भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता ईन्ट्रीको काम निरन्तर राख्न निर्देशन समेत दिइएको छ ।
त्यसो त यसअघि नै केन्द्रीय समितिले पारित गरेको कार्यतालिका अनुसार आगामी पुस २६ गतेदेखि नियमित महाधिवेशन हुने भनिएको थियो । तर त्यो सम्भव नहुने भएपछि महामन्त्रीद्वयले विशेष महाधिवेशनको काम थालेका छन् । आगामी पुस २७ गतेबाट विशेष महाधिवेशन गर्नेगरी भृकुटीमण्डपस्थित प्रदर्शनी हल, चौर, बगैँचा समेत बुक गरिएको छ ।
यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन् । तर संस्थापनले न नियमित न विशेष महाधिवेशन गर्ने तयारी गरेपछि महामन्त्रीद्वयले आगामी निर्वाचनअघि नै नेतृत्व फेर्ने गरी अघि बढ्न विशेष महाधिवेशनको काम थालेका हुन् ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो । तर नियमित महाधिवेशन निर्धातिर समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रुपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया