रमेश लेखकको स्थानहद फुकुवा

लोकपथ
154
Shares

काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका लेखकमाथि गत असोज १२ गते बसेको जाँचबुझ आयोगको बैठकले विदेश भ्रमणमा रोक्न लगाउनुका साथै उपत्यका छाड्न प्रतिबन्द लगाएको थियो ।

तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकले जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोगमा बयान दिएसँगै उनको स्थानहद फुकुवा गरिएको हो ।

सोमबार लेखकले सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर घटनाबारे बयान दिएका थिए ।

लेखकले बयान दिएसँगै बिहीबार बसेको जाँचबुझ आयोगको बैठकले स्थानहद फुकुवा गरिएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले जानकारी दिइन् ।

जाँचबुझ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ :

‘प्रस्तुत विषयमा भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको शिलशिलामा अनुसन्धानको दायरामा रहेका पूर्व माननीय गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२–६–१२ को बैठकबाट निर्णय गरिएकोमा पूर्व निर्णय उपर कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२–०९–१७ मा निर्णय भएकोले सोही व्यवहोरा निर्णयानुसार अनुरोध छ ।’

त्यसो त आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बयानमा बोलाउने तयारी गरेको छ । आज बिहीबार जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत भेट गरेका छन् । कार्कीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कार्कीले ओलीलाई बयानका लागि आउन पत्र काट्ने तयारी गरेको समेत जानकारी दिएका छन् ।

त्यसो त आयोगमा बयान दिएका तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंँ प्रशासनका प्रमुख छवीलाल रिजालको समेत स्थानहद फुकुवा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?