प्रियांका कामत
बालेन्द्र शाह उर्फ बालेन, त्यो नाम हो जसले २०७९ साल वैशाख २९ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक इतिहासमा ठुलो ‘टर्निङ प्वाइन्ट’ ल्यायो । परम्परागत दलका धुरन्धर उम्मेदवारहरूलाई भारी मतान्तरले पराजित गर्दै ३२ वर्षीय स्वतन्त्र उम्मेदवार बालेन ‘लौरो’ चुनाव चिन्ह लिएर काठमाडौं महानगरको नेतृत्वमा उदाए । महानगरको बागडोर सम्हालेका बालेनबाट आम नागरिकले काठमाडौंको मुहार फेरिने ठुलो अपेक्षा राखेका थिए । हाल उनको कार्यकालको साढे तीन वर्ष भएको छ । स्वतन्त्र उम्मेदवार भएर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको रूपमा देश विकास गर्ने सपना देखेका बालेन अहिले राजनीतिको नयाँ मोडमा छन् ।
वैकल्पिक शक्तिहरूको केन्द्रमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उनी आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री बन्न चाहन्छन् । मेयरका रूपमा पाएको चर्चाकै कारण उनी अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा रहन सफल भएका हुन्, तर उनको यो कार्यकाल भने चर्चा र विवादमै अल्झिएको छ । युवापुस्तामा एकदमै रुचाइएका विशेषगरी जेनजी युवाका प्रतिनिधिको रूपमा उदाएका नेता बालेन निर्वाचित भएलगत्तै अवैध संरचना हटाउने उनको अभियान चर्चामा रह्यो । वर्षौँदेखि शक्तिको आडमा नक्सा पास नगरी बनाइएका संरचना र व्यापारिक प्रयोजनमा ल्याइएका बेसमेन्ट पार्किङ खाली गराउन महानगरले डोजर चलायो । यसले न्युरोड, बानेश्वर र दरबारमार्ग क्षेत्रमा पार्किङको चाप घटाउनुका साथै फुटपाथलाई फराकिलो बनाउन मद्दत पुर्याएको बालेनले दाबी गर्दै आएका छन् ।
यद्यपि, टुकुचा खोला उत्खनन र जय नेपाल सिनेमा हलको विवादमा अदालतले निजी सम्पत्तिको हकमा रोक लगाउँदा महानगरको तयारीमा प्रश्न उठ्यो । त्यस्तै, सुकुम्वासी बस्ती हटाउने प्रयासमा संघीय सरकारको असहयोग र स्थानीयको विरोधले बालेनको योजनामा राजनीतिक अवरोध सिर्जना भएको बालेनले आफ्नो स्ट्याटसमार्फत बताउँदै आए ।‘पैदलयात्री पहिलो प्राथमिकता’ भन्दै न्युरोडलगायत क्षेत्रमा फुटपाथ विस्तार गर्ने उनको अडानले नै उनी युवाहरूमाझ हिरो बन्न पुगे । सडक विभागसँगको टकराब र अदालती प्रक्रियाका बाबजुद बालेनले आफ्नो योजना कार्यान्वयन गरेरै छाडे ।
उनको कार्यकालको सबैभन्दा सफल र प्रशंसा पाएको काम शिक्षा क्षेत्रमा छ । उनले महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधारमा व्यापक सुधार ल्याए । ‘बुक फ्री फ्राइडे’ कार्यक्रममार्फत विद्यार्थीहरूलाई किताबको बोझबाट मुक्त गरी व्यवहारिक सीप प्लम्बिङ, कृषि, इलेक्ट्रिसियन आदि सिकाउने कार्यले देशैभर चर्चा पायो । बालेनको स्वास्थ्य क्षेत्रमा, सम्पदा संरक्षण र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने लगायतका कामले पनि निकै चर्चा पायो जसले गर्दा उनी स्थानीय सकरकारका रूपमा नमुना नै सिद्ध भए ।
सकारात्मक काम हुँदाहुँदै पनि बालेनको साढे तीन वर्ष फोहोर व्यवस्थापनमा भने अझै अलमलिएको देखिन्छ । ‘फोहोर व्यवस्थापन नभएसम्म माला लगाउँदिन’ भन्ने बालेनले बञ्चरेडाँडाको समस्यालाई दीर्घकालीन रूपमा हल गर्न सकेका छैनन् । फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने योजना प्रभावकारी हुन सकेको छैन भने निजी कम्पनीहरूसँगको समन्वयमा पनि कमजोरी देखिएको छ ।
अर्कोतर्फ बालेनको ‘निर्मम’ कार्यशैलीलाई लिएर गम्भीर आलोचना हुने गरेको छ । विशेषगरी फुटपाथमा व्यापार गर्ने साना व्यवसायी र ठेलागाडामा जीविकोपार्जन गर्ने विपन्न वर्गलाई विकल्प नदिई बल प्रयोग गरेर हटाएको विषयलाई धेरैले ‘अमानवीय’ भनेका छन् । गरिबको लागी काम गर्ने भन्दै भोट मागेका बालेनले सहर सफा गर्ने नाममा निम्न वर्गको रोजीरोटी खोसेको आरोप छ । यस्तै थापाथलीको सुकुम्वासी बस्ती हटाउने सवालमा संघीय सरकारसँगको समन्वय अभाव र बल प्रयोगको नीतिका कारण यो समस्या अझै बल्झिरहेको छ ।
बालेन शाहको कार्यकालमा संघीय सरकार र अन्य निकायसँगको निरन्तर टकराब एउटा नियमित प्रक्रिया जस्तै बनेको छ । सिंहदरबारको फोहोर नउठाउने निर्णय होस् वा सडक विभागको कार्यालय अगाडि धुलो खन्याउने कार्य, यी घटनाले सहकार्यभन्दा पनि ‘लोकप्रियतावाद’ लाई बढवा दिएको विश्लेषकहरूको तर्क छ ।
बालेन सामाजिक सञ्जालमा जति सक्रिय र संवाद प्रिय देखिन्छन् । संस्थागत संवादमा भने त्यति नै उदासीन रहेको आरोप लाग्ने गरेको छ । आफ्नो कार्यालयमा आउने नागरिकलाई नभेट्ने, कार्यपालिका बैठकमा सदस्यहरूका प्रश्नको जवाफ नदिने र फेसबुक स्ट्याटसबाटै शासन चलाउन खोज्ने उनको प्रवृत्तिले लोकतान्त्रिक जबाफदेहितालाई कमजोर बनाएको गुनासो बढ्दो छ । बालेनले महानगरमा केही सुधारका संकेतहरू देखाए पनि समन्वय र सहकार्यको अभाव सबैभन्दा ठुलो कमजोरीका रूपमा देखिएको छ ।
संघीय सरकारले महानगरलाई उचित सहयोग नगरेको र बेवास्ता गरेको भन्दै बालेनको समर्थकहरूले सामाजिक सञ्जालमा तर्क गरिरहेको भेटिन्छ । बालेनको क्रेज युवापुस्तामा यतिसम्म छ कि यदि बालेनविरुद्ध कसैले नकारात्मक टीकाटिप्पणी गरेमा, नयाँ पुराना दलका कुनै नेताले नराम्रो धारणा व्यक्त गरेमा वा कुनै आरोप लगाएमा उनको बचाउमा पोस्ट गर्नेहरूको ओइरो लाग्ने गर्छ । बालेन माथि जनताको विश्वास यतीसम्म छ कि भदौ २३ र २४ गतेको आन्दोलन पछि बालेनलाई नै देशको प्रधानमन्त्री बनाउन सिंगो देश लागेका थिए राजनीतिक दल बाहेक । बालेनको स्ट्याटसको भरमा युवाहरूको मुड चेन्ज हुन्थ्यो । राजनीतिक दलहरूले बालेन स्वतन्त्र भएका कारण उनलाई सफल हुन नदिने गरी घेराबन्दी गरेको विषयमा सामाजिक सञ्जालमा डिबेट नै चलेको देखिन्छ ।
जेनजी आन्दोलनपछि नेपाली राजनीति नयाँ शिराबाट अघि बढ्न खोजिरहेको देखिन्छ । जसको परिणामस्वरूप स्वतन्त्र मेयर बालेन र आफूलाई वैकल्पिक शक्ति भन्ने रास्वपा एक बन्ने समय छिट्टै जुर्यो । निर्वाचन हुने, त्यही निर्वाचनले पुरानै नेता र शक्तिहरूलाई निर्वाचित गर्ने र नयाँ काम हुन नसक्ने भन्ने भाष्य सिर्जना भइरहेका बेला रवि–बालेनको मिलानले आगामी संसद् कस्तो बन्नेछ ? र त्यसले जनजीविकाको सवालमा कस्तो काम गर्ला भन्ने चासोका साथ हेरिएको छ । खास गरी हुन नसकेको राजनीतिक स्थिरता, स्थिर सरकार र त्यसैबाट हुने आर्थिक विकासको विषयलाई रवि–बालेनको मिलानले एक हदसम्म पूरा गर्नेछ भन्ने आम आशा रहेको छ । यद्यपि रविमाथि अदालतमा चलिरहेको मुद्दा, यसअघिका आरोप र बालेनबारे लाग्ने गरेका कतिपय आरोपले भने केही शंकाहरु समेत उत्पन्न भएका छन् ।
बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले अब निर्वाचनमा भाग लिनेछन् । तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि उनले माघ ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया