काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्नु अपरिहार्य भएको बताएका छन् ।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराध बढ्दै गएको उल्लेख गर्दै त्यसको न्यूनीकरण र नियन्त्रणका लागि राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताए ।
उनका अनुसार अहिलेसम्म नेपाली नागरिकको विदेश प्रस्थान व्यवस्थापनमा केन्द्रित अध्यागमन प्रणाली अब समयको मागअनुसार विदेशी नागरिकको आवागमन व्यवस्थित र सुरक्षित बनाउन केन्द्रित हुनुपर्छ । नयाँ सूचना प्रणालीले विदेशी नागरिकको आवतजावतलाई प्रभावकारी रूपमा अभिलेख गर्न, उनीहरूको सुरक्षा सुदृढ बनाउन र अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
गृहमन्त्री अर्यालले उक्त प्रणालीले विपद्का बेला उद्धार तथा खोजी कार्यलाई सहज बनाउने, विभिन्न अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउने र नेपाललाई विश्वस्तरमा सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्याउने बताए ।
उनले प्रविधिको व्यापक प्रयोगसँगै नयाँ–नयाँ प्रकृतिका अपराध बढिरहेको भन्दै त्यस्ता अपराधको पहिचान, न्यूनीकरण र नियन्त्रणका लागि अध्यागमन प्रणालीको आधुनिकीकरण अपरिहार्य रहेको दोहोर्याए ।
कार्यक्रममा गृहमन्त्री अर्यालले सरकारले विधिको शासन, भ्रष्टाचारमुक्त व्यवस्था र सुशासन कायम गर्दै निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न पूर्ण रूपमा निर्वाचनमा केन्द्रित रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया