काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
गएराति १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनलाई दुई वटा गाली लागेको थियो । उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्तीलगायत सामग्री लिएर आउँदै गरेका थिए ।
झन्डै ७ सय जनाको संख्यामा उपस्थित भएका स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेपछि राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । स्थानीयले दोषीलाई तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले स्थानीयले गरेको प्रदर्शनका कारण सवारी साधन चल्न नसकेको र मोटरसाइकल मात्रै आवत–जावत भइरहेको बताए ।
सशस्त्र प्रहरी स्रोतका अनुसार, तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले बुधबार राति करिब १ः१० बजे चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा हुन् ।
आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्रले उनीमाथि गोली प्रहार गरेको बताइएको छ । गोली प्रहार गर्नुअघि मालसामान ओसारपसारको विषयलाई लिएर केही समय दुई पक्षबीच विवाद भएको बताइएको छ ।
सशस्त्र प्रहरीका कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरे । उनले चोरीको सामान रहेको सवारी रोक्न खोज्दा गोली प्रहार भएको र एपीएफले जवाफी फायरिङ गरेको दाबी पनि गरे ।
स्रोतका अनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हबलदारको कमान्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले भारतबाट आउँदै गरेको २ वटा सिटी सफारीलाई चेकजाँच गर्न खोज्दा सिटी सफारीमा सवार व्यक्तिले दुई राउन्ड गोली फायर गरेको थियो । त्यसपछि सशस्त्र प्रहरी हबलदारले बोकेको एसएलआरबाट ५ राउन्ड गोली फायर गर्दा विजय साहको मृत्यु हुन गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया