नेपाललाई वैदेशिक शक्तिले युक्रेन बनाउन खोज्दैछ : झलनाथ खनाल

लोकपथ
105
Shares

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाल संकटमा परेको बताएका छन् । 

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले  मुलुक बहुआयामिक संकटमा फसेको  बताएका हुन्  । 

उनले विश्वको शक्ति सन्तुलन बदलिँदै गएको र पुरानो पश्चिमी वर्चस्वको विश्व व्यवस्था अन्त्यको दिशामा रहेको उल्लेख गरेका छन् । 

देशभित्रको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै खनालले कुशासन, भ्रष्टाचार र बेरोजगारीले सामाजिक–आर्थिक संकट गहिरो बनाएको बताए । 

उनले गत भदौ २४ गते जेन्जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र लुटपाटलाई देशी–विदेशी प्रतिक्रियावादीहरूले गरेको सुनियोजित महाविध्वंस भएको बताए । 

वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै उनले निष्पक्ष निर्वाचनका लागि पूर्वाधार अझै तयार नभएको आशंका व्यक्त गरे । 

खनालले भने, ‘निर्वाचन अपरिहार्य छ, तर केवल निर्वाचनले मात्र समस्या समाधान हुँदैन । संविधानको परिमार्जन, सुशासन, भ्रष्टाचार अन्त्य र युवाहरूका लागि रोजगारी योजना अघि बढाउनु जरुरी छ ।’ 

उनले १७ वाम समूहहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी बनेको स्मरण गराउँदै बाँकी रहेका वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन आह्वान गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?