काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् ।
मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका हुन् ।
केही दिन अघि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच भएको सहमतिपछि समानुपातिक निर्वाचनमा आफ्नो ‘भान्जा’ र ‘ससुरा’लाई उम्मेदवार बनाएको भन्दै मन्त्री घिसिङको चौतर्फी आलोचना भइरहेको छ ।
उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा ‘भान्जा’ भनिएका व्यक्ति मेरो भान्जा होइनन् । ती उम्मेदवार उज्यालो नेपाल पार्टीको होइनन्, अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् । त्यसैगरी, समानुपातिक सूचीमा ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि वास्तविक ससुरा होइनन् ।’
उनका अनुसार समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्तिगत दबाब वा चाहनामा नभई पार्टीको मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो ।
मन्त्री घिसिङले नातावाद र कृपावादको राजनीतिविरुद्ध आफू लामो समयदेखि उभिरहेको पनि उल्लेख गरेका छन् । राजनीतिक असहमति स्वाभाविक भए तापनि झूट र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक भएको उनले बताए ।
साथै, उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री घिसिङले पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको उल्लेख गर्दै सबैलाई भ्रामक समाचार र टिप्पणीको भ्रममा नपर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।
समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो ।
म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया