गाजा युद्धविराम अन्तर्गत हमासको निःशस्त्रीकरणका लागि ट्रम्पको दबाब

लोकपथ
63
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध विराम सम्झौता अन्तर्गत हमासलाई निःशस्त्रीकरणका लागि सीमित समय दिइने बताएका छन् । 

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो क्लबमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भएको भेटवार्तापछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । हमासले सहमत सर्तहरूको पालना नगरे त्यसको मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।

ट्रम्पले हमासको निःशस्त्रीकरण प्रक्रियाको रेखदेख आफ्ना विशेष दूत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुश्नरले गर्ने जानकारी दिए । युद्ध विराम अवधिमा इजरायलका गतिविधि वा गाजा शान्ति योजनाको दोस्रो चरणतर्फको प्रगतिको गतिप्रति आफू चिन्तित नभएको भन्दै उनले इजरायलले सम्झौतालाई शतप्रतिशत पालना गरेको दाबी गरे ।

नेतन्याहुसँगको भेटअघि ट्रम्पले हमासको निःशस्त्रीकरण नै शान्ति योजनाको मुख्य सर्त हुनेमा जोड दिँदै गाजा शान्ति योजनाको दोस्रो चरण छिटो सुरु गर्न प्रयास गर्ने बताएका थिए ।

भेटवार्तापछि ट्रम्पले कब्जा गरिएको वेस्ट बैंकमा बसोवास गर्ने इजरायलीहरूको हिंसाका विषयमा आफू र नेतन्याहुबीच धारणा फरक रहेको स्वीकार गरे । उनले सेप्टेम्बरमा इजरायललाई वेस्ट बैंक गाभ्न नदिने घोषणा पनि गरेका छन् ।

धेरै पश्चिमी तथा अरब राष्ट्रहरूले इजरायलको यस्तो कदमले प्यालेस्टाइन राज्यको अवधारणालाई समाप्त पार्ने चेतावनी दिँदै आएका छन् । यसैबिच प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको पुनरागमनपछि इजरायल–अमेरिका साझेदारी अतुलनीय भएको उल्लेख गर्दै भेटवार्ता अत्यन्तै फलदायी भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?