ससुरा अर्जुननरसिंहलाई समानुपातिकमा राखेकोबारे गगनको स्पष्टीकरण

लोकपथ
994
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्जुनरसिंह केसीलाई समानुपातिकमा राख्नुमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् ।

निवर्तमान सांसद समेत रहेका नेता केसी र महामन्त्री थापा नाताले ज्वाईँ–ससुरा हुन् । नुवाकोट क्षेत्र नं २ बाट पकटपटक निर्वाचित भइ मन्त्री बनिसकेका नेता केसी यसपटक आफू प्रत्यक्षमा नलड्ने घोषणा गर्दैै समानुपातिकमा बसेका थिए । पार्टीभित्र नेता केसीको नाममा विवाद समेत उत्पन्न भए पनि अन्तिममा उनको नाम समानुपातिकमा अटाएको थियो । तर आफ्ना ससुरालाई समानुपातिकमा राख्न महामन्त्री थापाले भूमिका खेलेको भन्दै आलोचना भएपछि गगनले सामाजिक सञ्जालमा लेख्दै त्यसबारे स्पष्टीकरण नै दिएका हुन् ।

उनले आफ्नो प्रयासमा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमा राखिएको विषय भ्रामक रहेको बताएका छन् । साथै आफूहरु नजिकको नातामा रहे पनि आफ्नो चाहना विपरित उक्त काम भएको समेत दाबी गरे ।

‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहना विपरित हो । मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो,’ उनले भनेका छन्, ‘मेरो र उहाँको आ–आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन् । जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौँ । यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो ।’

त्यसो त पार्टीको १३औँ महाधिवेशनमा गगन र अर्जुननरसिंह फरकफरक टिमबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका थिए । यद्यपि दुवै पराजित हुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?