कुखरा, बाख्रा र श्यालको मोर्चाले बाघको शिकार गर्न सक्दैन : ओली

लोकपथ
112
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङबिचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड रहेको टिप्पणी गरेका छन् ।

ओलीले एमाले अझै बलियो शक्ति रहेको भन्दै मुकाविला गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको जिकिर गरे ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा रख स्यालले मोर्चा गरेर जित्न नसक्ने बताए ।

ओलीले कांग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दाबी समेत गरे ।

उनले को लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुने समेत दाबी गरे ।

अध्यक्ष ओलीले लोकतन्त्र पराजित नहुने भएकाले आफूहरुले आगामी निर्वाचनमा विजय सुनिश्चित भएको जिकिर समेत गरे ।

उनले भने, ‘अहिले लोकप्रियता, अलोकप्रियताका अनेक विवादहरु, सृजना गरिएका अनेक भाष्यहरुको व्यवस्थित जवाफ एमालेका महाधिवेशनले दिएको छ । अर्को देशका को बढी लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले घरैमा । हामी चुनाव पर्खिराखेका छौँ । कहिले होला ? फागुन २१ मा होला ? वा वैशाखमा होला । वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौँ । जस्तो महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएका छौँ । त्यस्तै निर्वाचनबाट पनि राष्ट्रिय फैसला दिनेछौँ । त्यसका लागि हामीतयार छौँ भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ । पूर्ववक्ता साथीहरुले भनेजस्तै लोकतन्त्र अजेय छ , अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ । खेलमा खेलाडीहरु मध्ये एउटा जुडोको खेल भयो भने कुन खेलाडी कतिखेर पछारिन्छ, कुन खेलाडी कतिबेर पछारिन्छ । तर, उत्कृष्ट खेलाडीले जित्छ । अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन्, विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ, तिमी र म मिलौँ भनेको छ । ऊ सँग पनि मिलौँ भनेको छ । यसो हेर्‍यौँ भने विशालकाय एमाले छ । भिँड्नु त्योसँग छ । अनि लौन मिलू भनेर । अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ ? मुकाविला हुन्छ ? यसो हेर्छन्–नेपाली कांग्रेस छ । छेउमा नगइन्जेल त मजानै छ । छेउमा गएपछि हाग्रो पार्छ नि नेपाली कांग्रेसले पनि । त्यो पनि हेर्छन् । त्यसो भएपछि मोर्चा गर्न थाल्दछन् । दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नका लागि दुब्लाले एकताका कुरा गर्दछन् । आज पनि अर्को एकता हुन्छ रातिसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोली पनि हुन्छ । अनि दुई चार जना, दुई चार जना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरेपनि कसरी होला ? त्यही तयारी नेकपा एमालेको एघारौं महाधिवेशनले गरेको छ । नेपाली काँग्रेस पनि त्यसैगरी स्पष्टताका साथ तयारी गर्न चाहिरहेको छ ।’

अध्यक्ष ओलीले घैंटाको पानीले महासागरसँग प्रतिष्पर्धा गरेजस्तो एमालेसँग सहकार्यमा रहेका पार्टीले गर्नुपर्ने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?