अब फेरि कांग्रेस–एमाले मिलेर अघि बढ्नुपर्छ : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले एमाले–कांग्रेसबिच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मुलुकमा निर्वाचनको माहौल खडा भइरहेका बेला उनले कांग्रेस र एमालेबिच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताए ।

संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरुलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उनको भनाई थियो ।

उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढन सक्ने धारणा समेत राखे ।

उनले भने, ‘कांग्रेस र एमालेको, दुवै शक्तिहरुको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । र, हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ । त्यसकारण अविलम्ब दुवै दलले अबको लोकतन्त्रलाई पुनस्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरु सुविचारित ढंगले निश्चित गर्न जरुरी छ । त्यसकारणले नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद पुरानो संसदलाई पुनःस्थापना गरेर होस् । यो दुई वटा बोटाबाट हामी अगाडि बढ्नसक्छौँ । त्यसकारणले नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको वर्चश्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्नसक्छौँ । वा हामीले विघटित संसदलाई पुनःस्थापित गरेर त्यो अदालतको बाटोबाट वा सडकको बाटोबाट फागुन २१ सम्म हामीलाई समय छ । त्यो हामीले हामीले पुरानो संसदलाई जहाँ वामपन्थी लोकतन्त्रवादीहरुको वर्चश्व थियो । त्यसलाई पुनःस्थापित गरेर लोकतन्त्रलाई पुनःस्थापित गर्न सकिन्छ । यो दुई वटा बाटो अहिले हाम्रो अगाडि छ । त्यसकारण यो दुई वटै बाटोबाट अघि बढने रणनीति हामीले तय गर्न जरुरी छ । त्यसकारण आगामी निर्वाचनमा जो फागुन २१ मा हुन गईरहेको छ । त्यो नहुन पनि सक्छ । यदि उनीहरुले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन । तर त्यो उनीहरुले गर्दछन भन्ने मानेर हामीले दुई वटा शक्तिहरुले यो लडाईमा लोकतन्त्रवादीहरुलाई जिताउन र प्रतिगमनकारीहरुलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरुरी छ ।’

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भिर संकटमा फसेको जिकिर गर्दै त्यसको निदान कांग्रेस, एमालेले मिलेर मात्रै दिनसक्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?