५ महिनामा ४ खर्ब ९ अर्ब राजश्व संकलन, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

लोकपथ
42
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ । 

अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो । 

यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो ।  गत वर्षको सोही अवधिको तुलनामा राजश्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ । 

अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकुल परिस्थितिमा पनि राजश्व गत वर्ष भन्दा सकारात्मक उठेको जानकारी दिए । उनकाअनुसार राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रूपमै उठिरहेको छ । 

तर आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । नाकारात्मक हुनुको कारण बजारमा ब्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उनको भनाइ छ । 

उनकाअनुसार मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि हो ।  घरजग्गाका कारोबारहरू शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा कम आएको र लक्ष्य भेट्न सकस परेको पाण्डेले जानकारी दिए ।

सहसचिव पाण्डेयले भने,‘हाम्रो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म राजश्वको अवस्था हेर्दा करिब ४०९ अर्बको राजश्व संकलन भएको छ । लक्ष्यअनुसार राजश्वको प्रगति हुन सकेको छैन । लक्ष्यअनुसारको प्रगति करिब ७८ प्रतिशत छ । गत वर्षको तुलनामा भने १.६ प्रतिशतको ग्रोथमा छौँ । जुन यस्तो प्रतिकुल परिस्थितिमा पनि राजश्व गत वर्ष भन्दा सकारात्मक उठिरहेको छ । लक्ष्यअनुसार राजस्व उठाउनका लागि अर्थ मन्त्रालय र मातहतका विभाग, कार्यालयहरू लागिरहेका छन् । आगामी असार मसान्तसम्म पुग्दा लक्ष्यअनुसार राजश्व असुल हुन्छ । राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रूपमै उठिरहेको छ । आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । नाकारात्मक हुनुको कारण बजारमा ब्याजदर घट्यो र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आएको देखिन्छ । अर्कोतर्फ पुँजीगत लाभकरमा पनि कमी आएको देखिन्छ । जस्तै घरजग्गाका कारोबारहरू शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा केही कम छ ।’

घरजग्गाका कित्ताकाट खुलिसकेको र  शेयर कारोबारमा पनि अलिकति उछाल आउने छनक देखिएकाले आगामी दिनमा राजश्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ । अर्थ मन्त्रालयकारअनुसार आशन्न निर्वाचनमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजश्व वृद्धिमा सहयोग पुर्‍याउने र लक्ष्य भेट्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?