काठमाडौं । सप्तरीमा शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।
राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी सूचनाअनुसार आगामी तीन दिन (पुस १६ देखि १८) का लागि नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बन्द रहने जनाइएको छ ।
त्यस्तै, महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेका छन् । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलका अनुसार चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकोले यो निर्णय गरिएको हो ।
अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पनि सामुदायिक, धार्मिक र संस्थागत सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने सूचित गरेको छ ।
यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले आफ्ना सबै निजी तथा सामुदायिक विद्यालय पाँच दिन (पुस १४ देखि १८) का लागि बन्द गरिसकेका छन् । बोदेवरसाइन नगरपालिकाले पनि जाडो बिदा दिएर पुस ९ देखि १३ सम्म विद्यालय बन्द गरेको थियो ।
सप्तरीमा बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने भएकाले बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् । चिसोका कारण विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा विशेष गरी रुघाखोकी, ज्वरो तथा दमका बिरामी बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया