विद्यार्थीले मूल्य र ज्ञानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नुपर्छ : प्रधानसेनापति सिग्देल

लोकपथ
126
Shares

 भक्तपुर । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरले आफ्नो ४८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले विद्यालयले उत्पादन गर्ने विद्यार्थीहरू समाज र राष्ट्रप्रतिको उत्तरदायी र जिम्मेवार नागरिक हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानसेनापतिले भने, ‘विद्यार्थीले ज्ञानसँगै मूल्य र मान्यतालाई आत्मसात् गर्दै देशको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउनुपर्छ । महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनोपयोगी शिक्षा प्रदान गर्ने विश्वास छ ।’ उनले सैद्धान्तिक शिक्षा मात्र नभई कर्मभूमिप्रतिको समर्पणसहितका नागरिक तयार पार्ने शिक्षा दिनुपर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई ज्यास्मिन स्मृति पुरस्कार र गेहेन्द्रशम्सेर थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो । साथै उत्कृष्ट शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

महाविद्यालयका प्राचार्य दलबहादुर पुनले महाविद्यालयले शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा पनि योगदान दिएको बताए । प्रमुख व्यवस्थापक अधिकृत सहसेनानी शिवप्रसाद पौडेलले विद्यार्थीहरू शैक्षिक गुणस्तरसँगै विविध क्रियाकलापमा पनि उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरूले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वान्डो खेल प्रदर्शनी, महाविद्यालयको अकस्ट्रा समूहको प्रस्तुति तथा अन्य सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरे । प्रधानसेनापतिले चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनी अवलोकन गर्दै महाविद्यालयले प्रकाशन गरेको स्मारिक ‘सल्लाघारी’को विमोचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?