समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार दलहरूले आज कार्यालय समयभित्र बन्दसूची बुझाइसक्नुपर्नेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले आइतबार र सोमबारसम्मको समय तोकेको थियो । आयोगमा दर्ता भई समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने राजनीतिक दलहरूले मात्र हिजो र आज बन्दसूची पेस गर्न पाउने व्यवस्था छ ।

दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।

यस निर्वाचनका लागि सय वटा राजनीतिक दलले ९३ वटा निर्वाचन चिह्नमार्फत समानुपातिक प्रणालीतर्फ प्रतिस्पर्धा गर्न दल दर्ता गराएका छन् । आयोगका अनुसार दर्ता भएका ती राजनीतिक दलहरू मात्रै समानुपातिकतर्फको बन्दसूची पेस गर्न योग्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?