रवि–बालेनको एकताले तरंगित बन्यो राजनीति

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच एकता गरेर अघि बढ्ने सहमतिले राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको छ ।

लामो छलफलपछि मेयर बालेन र रास्वपाका तर्फबाट सभापति रवि लामिछानेले आइतबार बिहान ७ बुँदे सहमति गरे । उक्त सहमतिलाई दुई कोणबाट व्याख्या विश्लेषण भइरहेको छ । एकातिर पुराना दल र नेताहरुको नामै सुन्न नचाहेकाहरुमा नयाँ आशाको संचार भएको भनिरहेका छन् भने पूराना दलका नेताहरु त्यसले आगामी निर्वाचनमा पार्न सक्ने प्रभावबारे मूल्यांकन गरिरहेका छन् ।

जेनजी आन्दोलनपछि नेपाली राजनीति नयाँ शिराबाट अघि बढ्न खोजिरहेको देखिन्छ । जसको परिणामस्वरुप स्वतन्त्र मेयर बालेन र आफूलाई वैकल्पिक शक्ति भन्ने रास्वपा एक बन्ने समय छिट्टै जुर्‍यो ।

निर्वाचन हुने, त्यही निर्वाचनले पूरानै नेता र शक्तिहरुलाई निर्वाचित गर्ने र नयाँ काम हुन नसक्ने भन्ने भाष्य सिर्जना भइरहेका बेला रवि–बालेनको मिलानले आगामी संसद कस्तो बन्नेछ ? र त्यसले जनजीविकाको सवालमा कस्तो काम गर्ला भन्ने चासोका साथ हेरिएको छ । खासगरी हुन नसकेको राजनीतिक स्थिरता, स्थिर सरकार र त्यसैबाट हुने आर्थिक विकासको विषयलाई रवि–बालेनको मिलानले एक हदसम्म पूरा गर्नेछ भन्ने आम आशा रहेको छ । यद्यपि रविमाथि अदालतमा चलिरहेको मुद्दा, यसअघिका आरोप र बालेनबारे लाग्ने गरेका कतिपय आरोपले भने केही शंकाहरु समेत उत्पन्न भएका छन् ।

रवि बालेनको एकतापछि खासगरी विभिन्न शक्तिहरु, चर्चामा रहेका पात्रदेखि राजनीतिक दलका नेताहरुले समेत प्रतिक्रिया जनाइरहेका छन् ।

रवि–बालेनको मित्रताबारे कसले के भने ?

कुलमान घिसिङ

रवि–बालेनसँगै एकैपटक कार्यगत एकता गरेर अघि बढ्ने प्रक्रियामा थिए वर्तमान सरकारका उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ । केही प्राविधिक कारणले अहिले एकता प्रक्रियामा सामेल नभएका कुलमान र उनको दल आगामी दिनमा एक भएर अघि बढ्नसक्ने प्रशस्त सम्भावना रहेको चर्चा छ ।

रविबालेनको एकताबारे कुलमानले भनेका छन्, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु । आजको दिन नेपाली जनताको सबै वैकल्पिक शक्तिहरु एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ । यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ,’ वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले भने ।

जगदीश खरेल

आइतबार बिहानै रवि बालेनको एकतापछि सामाजिक सञ्जालमा सञ्चारमन्त्री जगदीश खरेलको प्रतिक्रिया आयो । रविको पूरानो साथी समेत हरेका मन्त्री खरेलको प्रतिक्रिया र त्यहाँ व्यक्त भएको भावले कतै उनी पनि सोही एकतामा भाग लिन लागेका होइनन् भन्ने प्रश्न समेत उठाएको छ ।

‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना गन्तव्य तय हुँदैछ,’ उनले भनेका छन् ।

सुदन गुरुङ

रवि बालेनको एकता प्रक्रियाको एक हिस्साको रुपमा छन् हामी नेपाल नामक एनजीओका सञ्चालक एवं जेनजी अभियन्ता सुदन गुरुङ । केही दिनअघि ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रवि–बालेनको वार्ता हुँदा मुल गेटमा ताला लगाएर एकता नभइ ताला नखोल्ने भन्दै अडान लिएका उनै सुदनले रास्वपाले चुनावमा ध्यान दिने र आफूहरुले राष्ट्रिय समस्या र जनताको वास्तविक समस्या समाधानमा ध्यान दिने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधानमा ध्यान दिनेछौँ ।’

हर्क साम्पाङ

हरेक कुरामा एक कदम अघि सरेर प्रतिक्रिया जनाइहाल्ने धरान उपमहानरपालिकाका मेयर हर्कराज राई उर्फ हर्क साम्पाङ रवि बालेनको एकताप्रति सकारात्मक भन्दा बढी नकारात्मक रुपमा खनिएका छन् ।

आइतबार बिहानबाटै उनले पटकपटक रवि–बालेनप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा पोखिएका छन् । खासगरी जेनजी आन्दोलनपछि बालेनप्रति खरो सुनिने गरेका हर्कले बालेनलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिप्रति खिसिटिउरी गर्दै विभिन्न आरोपहरु लगाएका छन् ।

हर्कले बालेनप्रति व्यंग्य गर्दै भनेका छन्, ‘डलरेहरुले विदेशीद्वारा पालित पोषितहरुले मिडिया ट्रायल गरेर प्रधानमन्त्री समेत घोषणा गरेछन् ! जनताको मनमा माटो बाहेक अर्थोक केही छैन ।

शंकर पोखरेल

जेनजी आन्दोलनका बेला सरकारमा रहेका बेला सरकारमा रहेको दल नेकपा एमाले रवि–बालेनको मिलनप्रति त्रसित देखिएको छ । एमालेका नेताहरुले रवि बालेनको एकताप्रति कटाक्ष गर्दै आइरहेका छन् । आइतबार बिहान रवि बालेनको एकतापछि एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना घटाएर देशलाई भूराजनीतिक द्वन्द्धको गोटी बनाएर देशलाई युक्रेनजस्तो अस्थिर बनाइएको आरोप समेत लगाएका छन् ।

उनले भनेका छन्, ‘भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ । यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ ।’
महासचिव पोखरेल मात्र होइन एमाले सचिव महेश बस्नेतले समेत रवि–बालेनको एकताप्रति कटाक्ष गर्दै एकतापछि आगामी दिनमा बालेनको क्रेज समेत घट्दै जाने टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो । रवि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ। “काम गर्ने कालू, मकै खाने भालु” जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनता संगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै छ ।’

सन्तोष परियार

केही समयअघि मात्रै रास्वपा छाडेर नयाँ धार निर्माण गर्न हिँडेका सन्तोष परियारले रवि–बालेनको मिलानप्रति कटाक्ष गरेका छन् । उनले देशका समस्या एकातिर हुँदा सबैलाई सत्ता मात्र चाहिएको भन्दै आलोचना गरे ।

हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता समेत रहेका परियारले भनेका छन्, ‘देश फागुन २१ को निर्वाचनमा केन्द्रित भइरहँदा सबैलाई प्रधानमन्त्री हुनुपरेको छ । यो मधेशको समस्या कसैलाई दुखिरहेको छैन । महिलाहरूलाई समावेश गर्न नसकेको कुरा कसैलाई दुखिरहेको छैन । दलितले जातका कारणले मर्नुपरेको कुरा कसैलाई दुखिरहेको छैन । मात्र प्रधानमन्त्री हुनुपरेको छ । यसलाई पनि प्रधानमन्त्री हुनुपरेको छ, उसलाई पनि प्रधानमन्त्री हुनुपरेको छ । त्यो हुने विधि के हो भन्ने पनि थाहा छैन, ज्ञानका हिसाबमा यति दरिद्र छन् कि त्यो प्रधानमन्त्री कसरी हुने भन्ने पनि थाहा छैन ।’

दुर्गा प्रसाई

नेपाली राजनीतिमा केही वर्षदेखि चर्चामा रहेका एक फ्याक्टर हुन् मेडिकल व्यवसायी दुर्गा प्रसाईँ । कहिले माओवादी, कहिले एमाले हुँदै अहिले राजावादी बनेका उनै प्रसाईले भने रवि–बालेनको एकतालाई राजनीतिक सम्झौताको भागबण्डा रहेको भन्दै कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘देशलाई आफ्नो नम्बरी जग्गा सम्झेर सम्झौता गर्ने संस्कारलाई अब राजनीति भन्ने कि व्यापार ? सत्ता, पद र प्रभावको भागबण्डा मिल्दा देशको आत्मा भने फेरि एकपटक चोइटिएको छ । ७० लाख सहकारी पीडितको रगत–पसिनाले कमाएको रकम अझै न्यायको प्रतीक्षामा छ । तर सत्ताको खेलमा पीडितको आँसु कहिल्यै एजेन्डा बन्दैन—किनकि आँसु भागबण्डामा अट्दैन । कालकोठरीभित्र बसेर अरूको डिजाइनमा देशको भविष्यसँग खेलिएको इतिहास हामीले बिर्सेका छैनौँ । पश्चिमा शक्तिहरूको डिजाइनमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म फैलिएको आगो, निर्दोष बालबालिकाको ज्यान, हजारौँ घाइते नागरिक, र ८२ खरबभन्दा बढीको राष्ट्रिय सम्पत्तिको ध्वंस ? यी सबै केवल “राजनीतिक संक्रमण” का नाममा मेटिन मिल्दैनन् ।’

डा.चन्द्र भण्डारी

नेपाली कांग्रेसको नेता भए पनि अन्य राजनीतिक दल र तीनका नेताहरुप्रति सकारात्मक भाव राख्ने नेतामा पर्छन् डा. चन्द्र भण्डारी । भण्डारीले सामाजिक सञ्जालमा लेख्दै रवि र बालेनको मिलनले अरु पनि मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘रविजी र बालनजीको मिलनले देखाउँछ कि अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ । यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?