रास्वपा र बालेन सम्झौता : संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

लोकपथ
182
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बिच भएको सम्झौता स्वभाविक भए पनि त्यसमा संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभूत विषय नसमेटिएको भन्दै आशंका व्यक्त गरेका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा नेता सुमनले जेनजी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन हुनुपर्छ भन्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबिचको सहकार्य स्वभाविक भएको बताए । तर सम्झौतामा संघीयता र धर्मनिरपेक्षताका विषय उल्लेख नगरिनु गम्भीर प्रश्नको विषय भएको उनको भनाइ छ ।

उनले रास्वपा सभापति रवि लामिछाने र मेयर साहले सम्झौतामा संघीयता र धर्मनिरपेक्षताको विषय ‘लेख्न लजाएको’ जस्तो देखिएको आरोप लगाए । बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु पार्टीका लागि सौभाग्य भए पनि रास्वपाको नीतिगत धार स्पष्ट र ठिक नदेखिएको उनको तर्क छ ।

सुमनले रास्वपा संघीयताविरोधी गतिविधिमा संलग्न रहँदै आएको आरोपसमेत लगाए । धर्मनिरपेक्षता र प्रदेशसभा निर्वाचनमा सहभागिता नदेखाएको कारण थप आशंका उत्पन्न भएको उनले बताए ।

उनले भने, ‘सम्झौता स्वभाविक जस्तै लाग्यो। तर संघीयता र धर्मनिरपेक्षतालाई बिर्सनुभयो। सम्झौतामा ती विषय लेख्न लजाउनुभयो कि भन्ने जस्तो लाग्यो। नेपालमा यस्ता सम्झौताहरू धेरै हुन्छन् तर दिगो रहँदैनन् ।’

निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कार्य हाँस्यास्पद भएको टिप्पणी गर्दै सुमनले यस्ता गतिविधिले राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?