बालेनलक्षित महेश बस्नेत भन्छन्– ‘नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रममा नपर्नू’

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका नै राम्रोसँग चलाउन नसक्ने व्यक्तिले देश चलाउन सक्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिचको गठबन्धनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले उक्त गठबन्धनले बालेनको स्वतन्त्र छविमा नकारात्मक असर पर्ने बताएका हुन् । 

उनका अनुसार काण्डै-काण्डमा मुछिएका रवि लामिछानेसँगको सहकार्यले बालेनको लोकप्रियता तीव्र गतिमा घट्न सक्छ ।

बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र पहिचानसँग जोडिएको उल्लेख गर्दै विवादित नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण कमजोर हुने दाबी गरेका छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा स्पष्ट दिशा र दीर्घकालीन भिजन नदेखिएको टिप्पणी पनि गरेका छन् ।

पुराना दलको आलोचना गरेर मात्र सत्तामा पुग्ने प्रयास भइरहेको आरोप लगाउँदै बस्नेतले यसले जनतासँगको दूरी अझ बढ्ने र जनसमर्थन कमजोर हुँदै जाने निश्चित रहेको बताएका छन् ।

उनले लेखेका छन् :

रबि बालेनको एकता बारे ।

नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ । गगन आए, जवर्जस्त बासी बनाइए। काण्डै काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ ।

बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ । ‘काम गर्ने कालू, मकै खाने भालु’ जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनता संगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै छ ।

भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए। त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो । यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन् । यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो ।

अबको चुनावको मुख्य प्रश्न , सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने ? जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ

समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो। नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन ।

यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ। नत्र नयाँ बोत्तलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?