रवि–बालेनको एकता : निरन्तर संवाद, भोलि सहमतिको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच एकता गरेर अघि बढ्नेसम्बन्धी छलफल जारी छ ।

दुवै पक्षबिच वार्ता टोलीमार्फत् भइरहेको पहल र सोही अनुसार आज नै सहमतिमा हस्ताक्षर हुने भनिएको थियो । तर मेयर बालेनको व्यवस्ता र अन्य प्राविधिक कारणका कारण भोलि मात्रै सहमति हुने भएको हो ।

दुवै पक्षबाट ४ सदस्यीय टोलीले सहमतिको खाका कोरिरहेका छन् । बुधबार, बिहीबार र आज निरन्तर छलफल र संवाद गरेर दुई पक्ष एक भएर अघि बढ्ने विषयमा वार्ता भइरहेको छ । यद्यपि अन्तिम सहमति भने शनिबार हुनसक्ने नेताहरुले बताएका छन् ।

वार्ता समितिले सहमतिका लागि ड्राफ्ट तयार गरेको र त्यसलाई मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेले अध्ययन गरेपछि मात्रै अन्तिम रुप दिने भनिएको छ ।

त्यसो त बालेन रास्वपाको चुनाव चिह्न र मार्ग दर्शन अनुसार अघि बढ्न राजी भएको बाहिरिएको छ, यद्यपि बालेन र उनको सचिवालयले भने मुख खोलेको छैन

गत शुक्रबार रवि सहकारी ठगी मुद्दामा धरौटीमा थुनामुक्त भएसँगै बालेनसँग सहकार्यका लागि छलफलमा जुटेका थिए । पुराना राजनीतिक शक्तिहरुसँग रुष्ट रविले बालेनसहित आफूलाई वैकल्पिक शक्तिहरु एक बनाउने घोषणा गरेका छन् । जसअनुसार उज्यालो नेपाल पार्टी दर्ता गरेका उर्जामन्त्री कुलमान घिसिङ समेत सोही एकताप्रक्रिया अनुसार अघि बढ्ने तयारीमा छन् ।

बालेनसँग निरन्तर संवादमा रहे पनि रवि र कुलमानबिच धेरै संवाद नभएका कारण उज्यालो नेपाल अहिले नै आउने वा नआउने निश्चित नभइसकेको नेताहरुले बताएका छन् ।

आगामी फागुन २१ का लागि घोषित मितिमा बालेन प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् । कुन क्षेत्र र कहाँबाट चुनाव लड्ने नबताए पनि स्वतन्त्रबाट दलीय राजनीतिमा बालेन आउने भने पक्का भएको हो ।

त्यसो अन्य वैकल्पिक दल मात्र नभएर जेनजी अभियन्ताहरु समेत रवि–बालेन सम्मिलित एकतामा भाग लिने तयारी गरेका छन् । बिहीबार ललितपुरको कुपण्डोलस्थित ज्वागलमा मेयर बालेनसँग भेटपछि जेनजी प्रतिनिधिहरुले फरकफरक ठाउँमा छरिएका जेनजीको समूहलाई एक बनाउने अभियान चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?