काठमाडौं । अदालतले नयाँ डिलरमार्फत केवाइसी प्यासेन्जर भ्यान र नियोसिया भ्यानको आयात तथा विक्रीमा रोक लगाएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार सिजी मोटर्सको पक्षमा अन्तरिम आदेश जारी गर्दै अन्य डिलरमार्फत केवाइसी भ्यानको आयात र विक्री वितरण नगर्न आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजलासले पुस ८ गते मंगलबार सिजी मोटर्सले दायर गरेको करारको यथावत् परिपालना सम्बन्धी मुद्दामा अन्तरकालीन आदेश जारी गरेको हो । अदालतको अन्तरकालीन आदेशमा नयाँ डिलरमार्फत केवाइसी भ्यानको आयात र विक्री वितरण नगर्न तथा केवाइसी भ्यानसँगै स्पेशिफिकेसन मिल्ने अन्य प्यासेन्जर भ्यानको आयात तथा विक्री वितरण समेत नगर्न भनिएको छ ।
यसअघि सिजी मोटर्सबाट निस्किएर नातामा भान्जा पर्ने पूर्व सिइओ हेमन्त अग्रवालले सुरुमा केवाइसीकै नयाँ डिलरसिप लिएका थिए । तर उक्त डिलरसिपबाट भ्यान आयात गर्न अदालतले रोक लगाएपछि केवाइसी कम्पनीबाटै उत्पादन गरी सोही स्पेशिफिकेसन भएको नियोसिया नामको भ्यानको आयात सुरु गरेका थिए । सुरुमा इलेक्ट्रिक ड्रीम्स मोबिलिटीका नामबाट केवाइसी भ्यानको डिलरसिप खोसेका अग्रवालले पछि केवाइसीको आयात र विक्रीमा रोक लागेपछि एम्बर मोटर्स प्रालिनामक कम्पनी खोलेर नियोसिया ब्रान्डको केवाइसीकै नक्कली भर्सन भित्राएका थिए ।

तर अदालतले दुवै भ्यानको आयात र विक्रीमा रोक लगाई पछि मङ्सिर महिनामा उच्च अदालत पाटनबाट सिजीको रिट खारेज भई करारसम्बन्धी काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दामा हुने आदेश वा फैसला अनुसार नै हुने भन्दै अन्तरिम आदेश खारेज गरिदिएको थियो ।
उच्च अदालतबाट केवाइसी र नियोसिया भ्यानको आयात र विक्रीमा रोक लगाउने त्यसअघिको अन्तरिम आदेश खारेज भएकाले आफूहरूले भ्यानको आयात र विक्री वितरण गर्न पाउने भन्दै हेमन्त अग्रवालको समूहले व्यापक तयारी गरेको थियो । उनीहरूले चीनबाट पार्टससमेत मगाएर केवाइसी र नियोसिया एउटै हो भन्दै पेप्सीकोला लगायतका स्थानमा सर्भिस सेन्टरसमेत स्थापना गरिसकेका थिए ।
नियोसिया ब्रान्डको भ्यान ४ सय थान आयात गरिएकामा २ सय थान विक्री गरिसकेको थियो भने २ सय थान भ्यान चीनतर्फको भन्सारमा अड्किएको थियो । ती सवारीसाधन समेत नेपाल ल्याएर केवाइसीकै नाममा विक्री गर्ने तयारी गरिरहेको बेला काठमाडौं जिल्ला अदालतले केवाइसी र नियोसिया भ्यानकै गाडीको आयात र विक्रीमा पुनः प्रतिबन्ध लगाइदिएको हो ।
यतिबेला इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि र एम्बर मोटर्सको कार्यालयसमेत टेकुमा एकै स्थानमा राखिएको थियो । चीनबाट गाडी आयातको व्यवस्थापन हेमन्त अग्रवालले गर्दा नेपालको व्यापार बिस्तारको जिम्मेवारी भने पहिले सिजी मोटर्समै जिएम रहेका दिनेशराज पाण्डेले गरेका थिए ।
तर काठमाडौं जिल्ला अदालतले करारको पूर्ण पालना भएको नदेखिएको भन्दै तत्कालका लागि केवाइसी र नियोसिया भ्यानको आयात र विक्रीमा पुनः रोक लगाइदिएपछि अब फेरि ती गाडीको आयात र विक्री रोकिने भएको हो ।
आफ्नै मामासँग किन लिए भान्जाले दुस्मनी ?
सिजी मोटर्स प्रालिमा सिइओका रूपमा काम गरेका हेमन्त अग्रवाललाई नाफाको कमिसनका विषयमा चित्त नबुझेपछि उनले आफ्नै मामाको कम्पनीलाई ध्वस्त बनाउने योजना बनाए । सिजी मोटर्स प्रालिको स्थापनादेखि सवारीसाधन ल्याएर विक्री वितरणको जिम्मा पाएका हेमन्त अग्रवाल वास्तवमा सिजी मोटर्सका मालिक विनोद चौधरीका भान्जा थिए । मामाको कम्पनीमा सिइओ रहेका अग्रवालले तलब र भत्ता मात्रै नभई गाडी विक्रीका आधारमा कमिसन समेत पाउने सहमति भएको थियो ।
सिजी मोटर्सका मालिक विनोद चौधरीले पनि भान्जा हेमन्त अग्रवाललाई गाडी विक्रीका आधारमा कमिसन दिने बताएका थिए । तर नाफाको गणना गर्दा भ्यान वा गाडीको एमआरपीमा हुनुपर्ने सर्त राखियो । यता हेमन्त अग्रवालले केवाइसी प्यासेन्जर भ्यान र किङ लङ माइक्रो बसमा धेरै छुट दिएर विक्री गरी सङ्ख्या बढाए पनि नाफा भने खासै बढाउन सकेनन् ।

किङ लङ र केवाइसीको विक्री बढे पनि नाफामा कमी आउन थालेपछि सिजी मोटर्सका मालिक विनोद चौधरीले कमिसन रकम दिँदा एमआरपी रकम वा प्रति गाडीको आधारमा नभई नाफाका आधारमा मात्रै दिने बताए । पहिले प्रति गाडी कमिसनको सम्झौता भएकामा पछि नाफाको प्रतिशतका आधारमा मात्रै कमिसन दिने भनेपछि सिइओ हेमन्त अग्रवाल आफ्नै मामा विनोद चौधरीविरुद्ध लाग्न थाले ।
… अनि केवाइसीको डिलरसिप खोसे
हेमन्तकै योजनामा अन्य व्यापारीसमेत समावेश गरी उनले इलेक्ट्रिक ड्रीम्स मोबिलिटी नामक कम्पनी स्थापना गरे । त्यसपछि चीनमा रहेको आफ्नो पहुँच प्रयोग गरेर केवाइसीको डिलरसिप सिजी मोटर्सबाट खोसेर इलेक्ट्रिक ड्रीम्स मोबिलिटीलाई दिन भने । त्यसरी डिलरसिप खोस्नका लागि उनले उत्पादक कम्पनीलाई व्यापारको सङ्ख्यामा वृद्धि र खरिद मूल्यमा पनि वृद्धिको प्रस्ताव राखे । त्यसबाहेक सिजीलाई नराम्रो देखाउन आफैले गरेका केही गलत क्रियाकलापको प्रमाणसमेत उपलब्ध गराइदिए ।
उत्पादक कम्पनीले पनि धेरै विक्री र बढी मूल्य पाउने भएपछि सिजी मोटर्सबाट केवाइसीको डिलरसिप खोसेर इलेक्ट्रिक ड्रीम्स मोबिलिटीलाई दियो । त्यसपछि त्यहाँबाट भ्यान ल्याउन खोज्दै गर्दा सिजीले अदालतमा मुद्दा दायर गरेपछि अवरोध भयो ।
तर कमिसनको भोका हेमन्तलाई सिजीले केवाइसीमाथि प्रतिबन्ध लगाए पनि भ्यान ल्याएर विक्री गर्नै पर्ने भोक र दबाब थियो । त्यसपछि हेमन्तले केवाइसीको नाममा नभई सोही भ्यानलाई अर्कै नाममा ल्याएर विक्री गर्न सकिने आइडिया पार्टनरहरूसँग सेयर गरे । त्यसपछि फेरि अर्को कम्पनी दर्ता भयो, एम्बर मोटर्स प्रालि । उता चीनसँग पनि सोही जानकारी गराउँदै एम्बर मोटर्स प्रालिसँग सम्झौता गरी नियोसिया ब्रान्डको भ्यानको आयात र विक्रीका लागि डिलरसिप लियो । अनि ४ सय भ्यानको अर्डर गरियो । अनि ती भ्यानमध्ये केही थान भ्यान काठमाडौं ल्याएर केवाइसी नै हो भन्दै विक्री वितरण सुरु गरियो ।

पहिलो चरणमा २ सय भ्यान ल्याएर विक्री गर्दै गर्दा उक्त गाडी केवाइसीको फ्याक्ट्रीबाटै उत्पादन भएको र एउटै स्पेशिफिकेसन तर फरक नाममा आएको थाहा पाएपछि सिजी एम्बर मोटर्स र नियोसिया भ्यानविरुद्ध पनि अदालत पुग्यो । २ सय थान नियोसियाको भ्यान ल्याएर विक्री सुरु गरेकै समयमा अदालतमा मुद्दा परेपछि अदालतले केवाइसी र नियोसिया भ्यानको आयात र विक्री वितरण नगर्न इलेक्ट्रिक ड्रिम्स मोबिलिटी र एम्बर मोटर्सको नाममा अन्तरिम आदेश जारी गर्यो । त्यसपछि दुवै भ्यानको आयात र विक्री वितरण रोकियो ।
तर गत मङ्सिर १७ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र वासुदेव न्यौपानेको इजलासले सिजीको रिट खारेज गर्दै जिल्ला अदालतमा हुने आदेश वा फैसला अनुसार हुने भन्यो । त्यसपछि तत्कालका लागि इलेक्ट्रिक ड्रिम्स मोबिलिटी र एम्बर मोटर्सले केवाइसीको आयात सुरु गरी नियोसिया भ्यानको आयातलाई बन्द गर्ने निर्णय गरेको थियो । नियोसिया भ्यानको आयात र विक्री एक लट मात्रै गरेर बन्द हुनेसम्बन्धी समाचार लोकपथले प्रकाशन गरिसकेको थियो ।
तर सिजी मोटर्सले काठमाडौं जिल्ला अदालतमा करारको यथावत् परिपालना गरी पाऊँ भनी दायर मुद्दा विचाराधीन अवस्थामै रहेको थियो । सिजी मोटर्सले केवाइसी ब्रान्डको प्यासेन्जर भ्यानको आयात, विक्री वितरण र पार्टपुर्जाका लागि चीनमा रहेको चोङईङ चांगन अटोमोबाइल कम्पनी लिमिटेडसँग सन् २०२७ को डिसेम्बरसम्मका लागि सम्झौता गरेको थियो । त्यति बेलासम्म नेपालमा अन्य कुनै पनि कम्पनीलाई डिलर नदिने, वारेन्टी र पार्टपुर्जा दिने लगायतका विषयमा भएको सम्झौता विपरीत डिलरसिप खोसिएको र त्यसबाट आफूहरूलाई अपूरणीय क्षति हुने सिजीको दाबी थियो । किनभने केवाइसीको विज्ञापन, बजार बिस्तार शोरुम निर्माण, चार्जिङ स्टेसन निर्माण लगायतका करोडौँ रकम खर्च भएको कारण विरुद्ध करारको यथावत् परिपालना गरिपाउन मुद्दा हालेको थियो ।

सो मुद्दामा काठमाडौं जिल्ला अदालतले तत्काल सम्झौता यथास्थितिमा नराखेमा निवेदक कम्पनीलाई आर्थिक दायित्व यथावत् रही अपूरणीय क्षति पुग्न जाने भएको कारण देखाएर केवाइसी र नियोसिया ब्रान्डको भ्यानको विक्री वितरणमा प्रतिबन्ध लगाइदिएको हो । यस सम्बन्धमा दुवै पक्षको कुरा सुनी पुस २२ गते निर्णय गर्ने समेत भनिएको छ । साथै जिल्ला अदालतको आदेशमा उच्च अदालत पाटनबाट भएको आदेशमा ‘करारीय विषयमा काठमाडौं जिल्ला अदालतमा करारको यथावत् परिपालना गराई पाऊँ भन्ने विषय र करार भङ्ग गरेको विषयमा जालसाजी मुद्दा दायर गरी विचाराधीन रहेकोले सोही मुद्दाबाट निरूपण हुने विषय भनी रिट निवेदन खारेज हुने ठहरेको’ कारण उक्त रिट खारेजले यो मुद्दामा फरक नपर्ने समेत भनिएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशमा भनिएको छ,
‘… यी निवेदकको करार अवधि बाँकी रहेको अवस्थामा विपक्षी प्रतिवादी कम्पनीले एकतर्फी रूपमा करार भङ्ग गरेको कारण निवेदक वादी कम्पनीले नेपाल भित्र्याएको बिक्री हुन बाँकी सवारी साधन, बिक्री भइसकेको सवारी साधनको वारेन्टी, सर्भिसिङ लगायतका थुप्रै लगानी तथा आर्थिक दायित्व बापत अपूरणीय क्षति बेहोर्नुपर्ने अवस्था रहने भन्ने निवेदन दाबी देखिन्छ । यसै विषयमा उच्च अदालत पाटनबाट ०८२-WO-०१५७ को रिट निवेदनमा सुनुवाइ हुँदा करारीय विषयमा काठमाडौं जिल्ला अदालतमा करारको यथावत् परिपालना गराई पाऊँ भन्ने विषय र करार भङ्ग गरेको विषयमा जालसाजी मुद्दा दायर गरी विचाराधीन रहेकोले सोही मुद्दाबाट निरूपण हुने विषय भनी रिट निवेदन खारेज हुने ठहरेको र मिति २०८२। ०४।१५ मा दिएको अन्तरिम आदेश समेत निष्क्रिय हुने ठहरी आदेश भएको भनी च.नं. २३७ मिति २०८२।०८।२१ को पत्रबाट यी निवेदकलाई आदेशको जानकारी दिएको भनी दिएको पत्रको प्रतिलिपि समेत पेस भएको अवस्था हुँदा तत्काल सम्झौता यथास्थितिमा नराखेमा निवेदक कम्पनीलाई आर्थिक दायित्व यथावत् रही अपूरणीय क्षति पुग्न जाने भएको हुँदा र करारको सम्झौता यथास्थितिमा राखी पाउँ भन्ने विषयमा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने भएकोले मिति २०८२।०९।२२ गते छलफलको पेशी तोकी सो अवधि अगावै विपक्षीहरूलाई रितपूर्वक म्याद सूचना दिनू । साथै सो अवधिसम्म विपक्षी चिनिया कम्पनीबाट उत्पादित केवाइसी ब्रान्डका गाडीसँग स्पेशिफिकेसन मिल्ने गाडीहरू निवेदक वादी बाहेक अन्य कम्पनी/व्यक्तिको नाउँबाट आपूर्ति तथा बिक्री वितरण नगर्नू नगराउनू, करार सम्झौता यथास्थितिमा कायम राख्नु भनी विपक्षीहरू नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम यो अन्तरकालीन आदेश जारी गरिदिएको छ ।’
काठमाडौं जिल्ला अदालतको यो आदेशसँगै अब फेरि इलेक्ट्रिक ड्रिम्स मोबिलिटी र एम्बर मोटर्सले केवाइसी र नियोसिया भ्यानको आयात तथा विक्री वितरण गर्न नपाउने भएका छन् ।
यो पनि …
बन्द हुँदैछ नियोसिया भ्यानको आयात, पार्टस र वारेन्टी नपाउने जोखिम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया