काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा प्रदान गरेको बताएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त आन्दोलनले शिक्षण–सिकाइ प्रणालीलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रूपान्तरण गर्न प्रेरित गरेको उल्लेख गरे ।
उनले जेनजी आन्दोलनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसरसमेत प्रदान गरेको बताए । ‘गत भदौमा भएको जेनजी युवा आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको छ । यसले शिक्षालाई व्यवहारिक, जिम्मेवार र राष्ट्र निर्माणसँग जोड्ने आधार तयार पारेको छ, ‘उनले भने ।
उपराष्ट्रपति यादवले मुलुकमा परिमार्जित, रूपान्तरित र सीपयुक्त शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट पारे । उनले सरकारको नीतिसँग मेल खाने गरी शैक्षिक गतिविधि अघि बढाउन निजी शिक्षालयहरूलाई आग्रह गरे ।
उनका अनुसार निजी क्षेत्रले स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठ्यक्रम विकास, शिक्षकको निरन्तर तालिम, अनुसन्धान र नवप्रवर्द्धनमार्फत राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनुपर्छ । साथै, समावेशी शिक्षा, समुदायसँग सहकार्य र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित रहेको उनले बताए ।
उपराष्ट्रपति यादवले अनुसन्धान र नवप्रवर्द्धनलाई प्रोत्साहन गर्ने खालको शिक्षामा निजी शिक्षालयहरूको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया