ओलीलाई सरकारको सन्देश– ‘चुनावका लागि सरकार तयार छ, सुरक्षामा शंका छैन’

लोकपथ
105
Shares

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनका लागि सरकार सबै तबरबाट सक्षम रहेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा भेटेपछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले सो कुरा बताएका हुन् ।

गुण्डुमा ओलीसँग भेटवार्ताका क्रममा आफूले निर्वाचनका लागि सुरक्षाका हिसावले समेत सरकारको तयारी तीव्र रहेको जानकारी गराएको बताए ।

‘मुख्य राजनीतिक दलको कार्यालयमै गएर पनि नेतासँग कुरा गरियो । राष्ट्रपतिले पनि छलफल शीर्ष नेतृत्वसँग कुरा गर्नु भयो,’ सञ्चारमन्त्री खरेलले पत्रकारहरुसँग भने, ‘सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न पनि म यहाँ आएको थिएँ ।’

त्यसो त भेटका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचनको वातावरण बनिनसकेको हो कि भन्ने शंका व्यक्त गरेको समेत बताए । तर आफूले सुरक्षाका दृष्ट्रिकोणले निर्वाचनको वातावरणमा कुनै शंका नगर्न आग्रह गरेको समेत बताए ।

‘सुरक्षा कुरा राम्रो बनाउनुपर्‍यो भन्ने दलको भनाइ त राम्रो हो नि,’ खरेलले भने, ‘चुनाव बहिष्कार गर्ने कुरा छैन । दल दर्ता भइसकेको छ । समन्वय र छलफल गरौँ भन्ने छ ।’
त्यसो त मन्त्री खरेलले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?