सम्पूर्ण क्रान्तिकारी शक्ति एकजुट हौँ : प्रचण्ड

लोकपथ
56
Shares

 काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओत्सेतुङको १३३औँ जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै माओले देखाएको बाटो केवल इतिहास नभई राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि आजको व्यावहारिक मार्गदर्शन भएको बताएका छन् ।

प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।

‘हामीले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा गरिसकेका छौँ । यसले हाम्रो वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ’, प्रचण्डले भने ।

उनले थपे, ‘यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको मुख्य जिम्मेवारी बनेको छ ।’

प्रचण्डले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्षबिना समाजवादी क्रान्ति सफल नहुनेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?