उपराष्ट्रपति यादवले भने : ज्येष्ठ नागरिक ‘बोझ’ होइन, ‘बोध’को स्रोत हो 

लोकपथ
0
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा ज्येष्ठ नागरिकलाई समाजको बोझको रूपमा होइन, अनुभव र ज्ञानको स्रोतको रूपमा हेर्नुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपति यादवले उनीहरूको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहयोग र मानसिक स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको बताए । ‘परिवारमा उनीहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो,‘उनले भने।

उनले युवापुस्ताले ज्येष्ठ नागरिकलाई केवल वृद्ध नभई मार्गदर्शन, ज्ञान र अनुभवका स्रोतका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनीहरूको विचारलाई सम्मानपूर्वक ग्रहण गर्न, सामाजिक गतिविधिमा सहभागिता सुनिश्चित गर्न, र डिजिटल साक्षरता तथा स्वास्थ्य सेवासम्म पहुँचमा सहयोग गर्न आजको आवश्यकता भएको बताए ।

उपराष्ट्रपति यादवले अघि भने, ‘हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दियो’ मानेको छ। आधुनिकताको नाममा उहाँहरूको उपेक्षा गर्नु पारिवारिक र सामाजिक मूल्यको पतन हो। संस्कृति र आधुनिकताको समन्वय गर्दै उहाँहरूको गरिमा पुनःस्थापित गर्नु हाम्रो साझा दायित्व बन्नुपर्छ ।’

उनले वृद्धावस्थालाई जीवनको अन्त्य नभई अनुभव र मार्गदर्शनको उत्कर्षको रूपमा लिँदै ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखद् बनाउन सबैमा हार्दिक अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?