काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँमा भएको आगलागीमा दुई जना घाइते भएका छन् भने पाँच वटा घरमा क्षति पुगेको छ ।
स्थानीय विजय फडेराका अनुसार गए राति लैबा फडेराको घरबाट अचानक आगो लागेको हो । आगलागीमा परेर लैबा फडेरा र उनकी श्रीमती बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवै जनालाई राति नै एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।
आगोका कारण लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराका घरमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र छिमेकी उनापानी गाउँका मानिसहरूको सहयोगमा बिहान करिब २ः३० बजे आगो नियन्त्रणमा आएको हो । आगलागीको खबर पाएलगत्तै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख विष्णु श्रेष्ठका अनुसार आगो नियन्त्रणमा आइसकेको छ, तर क्षतिको विवरण संकलन भइरहेको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त तिवारीका अनुसार लैबा फडेराको शरीरको करिब ५४ प्रतिशत भाग जलेको छ । उनको अवस्था गम्भीर भएकाले जिल्ला बाहिर रिफर गरिएको छ । बम्बु फडेराको शरीरको करिब १८ प्रतिशत भाग जलेको र उनको उपचार जिल्लामै भइरहेको डा.तिवारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया