ज्येष्ठ नागरिक समाज विकासका मार्गदर्शक हुन् : राष्ट्रपति पौडेल

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक समाजका लागि प्रेरणाका पुञ्ज र विकासका मार्गदर्शक भएको बताएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकलाई सुस्वास्थ्य, दीर्घायु तथा मर्यादित जीवनयापनको कामना गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकप्रति आदर, सम्मान र उचित संरक्षण अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

ज्येष्ठ नागरिक माया, ममता र करुणाका स्रोत भएको उल्लेख गर्दै उनले उनीहरूको मर्यादित जीवनयापनमा सहजीकरण गर्न राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

विसं २०५१ पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको दिनको स्मरणमा सरकारको निर्णयअनुसार सोही दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ ज्येष्ठ नागरिकको हक, हित र अधिकार संरक्षण गर्दै सम्मान, संरक्षण तथा सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ ।

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै घर, परिवार, टोल, समाज र राज्यका सबै तहबाट उचित सम्मान र संरक्षण गर्न सके मात्र यो दिवस सार्थक हुने बताएका छन् ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरणका लागि अनुकूल वातावरण निर्माण गर्न परिवार, समाज, संघसंस्था तथा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सामूहिक प्रयासका लागि सबैमा आग्रह गरे ।

साथै, सरकारले व्यवस्था गरेका सामाजिक सुरक्षा तथा संरक्षणसम्बन्धी सेवा–सुविधालाई प्रभावकारी र दक्षतापूर्वक कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई राष्ट्रपतिले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?