काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताएकी छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताइन् । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा प्रणाली निरन्तर असफल हुँदै गएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति हुने वर्तमान व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको बताउँदै यस विषयमा परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन् । ‘नेपालमा शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता छ । सँगै, शिक्षाक्षेत्रमा देखिँदै आएको दलीय राजनीतिकरण अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक छ,‘उनले भनिन्, ‘शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले उच्च शिक्षा कमजोर बनेको छ ।’
उनले उच्च शिक्षाका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि जोड दिइन् । स्वदेशमै गुणस्तरीय शिक्षा र अनुसन्धानको वातावरण सिर्जना गर्न सके विद्यार्थीहरू विदेश पलायन हुन नपर्ने भन्दै त्यसतर्फ सरकार गम्भीर रूपमा अघि बढ्ने संकेत गरिन् ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले स्नातक तथा स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरूलाई बधाई दिँदै प्राप्त ज्ञान र सीपलाई देशको विकास र सामाजिक रूपान्तरणमा प्रयोग गर्न आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया