काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) तर्फ संकेत गर्दै देशमा चर्चित भनिएका केही व्यक्तिहरू नशामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।
पार्टीको ११औँ महाधिवेशनमा स्वयंसेवकको भूमिका निर्वाह गर्ने युवाहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले पछिल्लो समय अत्यधिक चर्चामा ल्याइएका व्यक्तिहरू समेत दुर्व्यसनमा फसेको अवस्थामा देखिने गरेको बताए ।
उनले युवाहरूले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र आफूलाई ठिक तरिकाले प्रस्तुत गर्न नसक्नु मुलुककै लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गरे । तर एमालेमा आबद्ध युवाहरूमा त्यस्तो दुर्व्यसन नदेखिएको दाबी गर्दै उनले महाधिवेशनका क्रममा स्वयंसेवकको जिम्मेवारी सम्हालेका युवाहरूले अनुशासित र उदाहरणीय भूमिका निर्वाह गरेको प्रशंसा गरे ।
‘आजको दिनमा युवाहरूले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । तर हाम्रो युवाहरूले नमुना प्रस्तुत गरे,‘ओलीले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ, त्यस्ता मान्छेहरू पनि नशामा भेटिन्छन् । तर हाम्रा युवाहरूमा त्यस्तो कुनै दुर्व्यसन देखिएन ।’
उनले दुर्व्यसनमा रहेका व्यक्तिहरूले त्याग गरे आफूलाई खुसी लाग्ने समेत बताए । महाधिवेशनका क्रममा स्वयंसेवकहरूले नियम पालना नगरे कारबाही हुने स्पष्ट व्यवस्था गरिएको स्मरण गराउँदै ओलीले कसैले पनि नियम उल्लंघन नगरेको र कसैका लागि भोट माग्ने कामसमेत नभएको दाबी गरे ।
कार्यक्रममा ओलीले मुलुकको स्वाधीनताको रक्षा र राष्ट्रिय हितका लागि एकताबद्ध भएर अघि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया