काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कालोधनलाई वैध र जनताको बिचमा स्वीकृत हुने गरी ल्याउन नोटबन्दी आवश्यक रहेको बताएका छन् ।
बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पाँच सय र एक हजार रुपैयाँका नोट खारेज गर्नुपर्ने प्रस्ताव अघि सारे । उनका अनुसार ती नोटको सट्टामा दुई सय, चार सय र दुई हजार रुपैयाँका नयाँ नोट प्रचलनमा ल्याउन सकिन्छ ।
महासचिव चन्दले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए । उक्त आयोगले निष्पक्ष छानबिन गरी उच्चस्तरीय न्यायालयमार्फत अन्तिम फैसला गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । त्यस न्यायालयको फैसलालाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न नपाइने व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरी हदैसम्म जन्मकैदको सजाय हुने कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीका माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे ।
उनले भने, ‘हाम्रा मुख्य प्रस्तावहरूमा सर्वपक्षीय सरकार गठन, भ्रष्टाचारसम्बन्धी उच्चस्तरीय छानबिन आयोग, उच्चस्तरीय न्यायालय गठन र नोटबन्दी समावेश छन् । कालो धनलाई सेतो बनाउने हो भने पाँच सय र एक हजारको नोट खारेज गर्नुपर्छ ।’
महासचिव चन्दले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने दाबीसमेत गरे। प्रहरी र कर्मचारीको मनोबल खस्किएको अवस्थामा निर्वाचन सम्भव नभएकाले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको उनको भनाइ छ ।
त्यसैगरी, कम्युनिष्ट पार्टीबिच एकताको आवश्यकता रहेको स्वीकार गरे पनि तत्काल सम्भावना नरहेको उनले बताए । एमालेसँग केही साझा एजेन्डा मिल्ने भएकाले सर्वपक्षीय सरकारको अवधारणा त्यतैतर्फ गएको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया