विप्लवले भने– ‘अन्तरिम कालको नेतृत्व गर्न दिनुस्, सबैलाई चित्त बुझ्दो गरी राज्यलाई निकास दिन्छौँ’

लोकपथ
105
Shares

 काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १३ सूत्रीय मागबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो स्पष्ट संकेत दिएका हुन् ।

महासचिव चन्दले देशलाई अग्रगामी निकासतर्फ लैजान सर्वपक्षीय सरकार आवश्यक रहेको उल्लेख गर्दै समाजवादी संघीयतालाई वर्तमान नेपालको ढाँचा हुनुपर्ने बताए । उनले अग्राधिकारसहितको संघीय संरचना र राज्यका सबै अंगमा जनताको अपनत्व कायम हुने गरी पुनःसंरचना गर्नुपर्ने माग राखे ।

उनले भने, ‘अन्तरिम कालको नेतृत्व नेकपा ९माओवादी०लाई दिइए पनि हामी सबै राजनीतिक शक्तिलाई, आन्दोलनकारी र जनतालाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिने पहल गर्नेछौँ । अहिलेसम्म अपूर्ण रहेका कानुनी, राजनीतिक, प्रशासनिक सबै समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतर्फ लैजानुपर्छ ।’

महासचिव चन्दले राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रस्तुत गरिएको र प्रधानमन्त्रीलाई पनि भेटेर मागपत्र बुझाउने तयारी भएको जानकारी दिए। उनले चेतावनी दिँदै भने, ‘यदि १० दिनभित्र मागपत्रमा छलफल नभए र सुनुवाइ भएन भने, नेपाली जनताको समर्थनसहित, अग्रगामी राजनीतिक शक्तिहरू र विभिन्न सहभागितासहित परिवर्तनकारी आन्दोलनमा जानेछौँ ।’

उनले नेपाली राजनीति र कम्युनिष्ट आन्दोलन अहिले भूराजनीतिक चपेटामा परेको उल्लेख गर्दै, देशलाई स्थिर र प्रगतिशील दिशा दिने लक्ष्यका साथ आफ्नो पार्टी आन्दोलनमा सक्रिय हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?