काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
क्रिसमस डे का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले यस्ता पर्वमार्फत विविध सांस्कृतिक पहिचान र धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरेका छन् ।
सन्देशमा इसाई धर्मका अनुयायीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा प्रत्येक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको स्मरण गराउँदै नेपालका विभिन्न स्थानमा पनि विविध कार्यक्रमका साथ यो पर्व मनाइने गरिएको जनाइएको छ।
राष्ट्रपति पौडेलले प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन बोकेको क्रिसमस पर्वले मानवता, समानता र सेवाभावलाई सुदृढ गर्दै सामाजिक एकता कायम गर्न प्रेरणा दिने उल्लेख गरेका छन्। साथै, इतिहास र संस्कृति संरक्षण गर्दै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचाराको प्रवर्द्धनमा यस दिनले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन् ।
उनले यस्ता पर्वहरूको माध्यमबाट विविध समुदायबिच आपसी विश्वास, प्रेम र एकताको भावना अझ प्रगाढ हुँदै विविधताबिचको राष्ट्रिय एकता थप सशक्त बन्ने विश्वास लिएको जनाएका छन् ।
राष्ट्रपति पौडेलले क्रिसमस डे ले इसाई धर्मावलम्बीसहित सबै नेपालीहरूबिच आपसी विश्वास, प्रेम र एकताको भावना विस्तार गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया