काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ । विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर दीक्षान्त समारोह गर्न लागिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालका अनुसार समारोहका प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता रहनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध काजिताले न्यूट्रिनोसम्बन्धी अनुसन्धानका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
उपकुलपति प्राडा अर्यालले दीक्षान्त समारोहका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावकका लागि बस्ने व्यवस्था लगायतका सबै काम सम्पन्न भएको उनले बताए ।
यसपटक त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ ।
विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये १६ हजार ३ सय ८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन निवेदन दिएको उपकुलपति अर्यालले जानकारी दिए ।
समारोहका क्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ । यस वर्ष मानविकी सङ्कायबाट १४ हजार ८ सय ५१, व्यवस्थापनबाट ४३ हजार ६ सय १०, कानुनबाट २ हजार ३ सय ३५ र शिक्षातर्फ १६ हजार ४ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया