काठमाडौं । ऊर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै पनि सम्झौता नगरेको बताएका छन् । उनले एक सय दिनको उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सबै मन्त्रीले समयमै सम्पत्ति विवरण बुझाइसकेको जानकारी दिएका छन् ।
मन्त्री घिसिङका अनुसार, सबै मन्त्रीले साढे दुई महिनाभित्र विवरण पेस गरेकाले अब सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो। उनले भने, ‘हामी पारदर्शिता र सुशासनमा कटिबद्ध छौँ। जेनजी आन्दोलनबाट आएको सरकारले सुशासनमा कुनै सम्झौता गर्न सक्दैन। कुनै निकायमा समस्या आए कारबाही गरिएको छ ।’
घिसिङले आफ्नो राजनीतिबाट पछि हट्ने योजना नरहेको स्पष्ट गर्दै आगामी निर्वाचनमा नयाँ शक्ति एक भएर अघि बढ्ने जानकारी दिएका छन् । उनले भने, ‘अबको सरकार चुनाव गर्ने सरकार हो। सबै नयाँ शक्तिले मिलेर चुनावमा जानुपर्छ। परिवर्तनलाई संस्थागत गर्न र आगामी नेतृत्वलाई सक्षम बनाउन सबैले योगदान दिनुपर्छ।’
१०० दिनको उपलब्धिमा उनले उल्लेख गरेका प्रमुख कामहरूमा बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्दा राजधानी अस्तव्यस्त हुने समस्या समाधान, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाउने, तातोपानी–कोदारी सडक खोल्दै चीनसँगको नाका पुनः सञ्चालन, मनसुनले क्षति पुर्याएको वीपी राजमार्गलाई समयमै सञ्चालनमा ल्याउने कार्यहरू रहेका छन् ।
ऊर्जा क्षेत्रमा बुढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको मोडालिटी र वित्तीय ढाँचा तयार गरिएको, भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात गरिएको उपलब्धि सूचीमा उल्लेख छ । भौतिक पूर्वाधारमा कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता, ४० रुग्ण ठेक्का तोड्ने र वीपी राजमार्ग पुनर्निर्माणको काम पनि समावेश गरिएको छ ।
मन्त्री घिसिङले १०० दिनमा हासिल गरेका यी उपलब्धिहरूले जनजीवन सहज भएको र भविष्यमा निरन्तर सुधार जारी रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया