सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल

लोकपथ
42
Shares

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउनु रहेको बताएका छन् ।

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले कुनै पनि अवस्थामा द्वन्द्व हुन नदिने सरकारको मूल रणनीति रहेको स्पष्ट पारे । उनले शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी भइरहेको बताए ।

‘संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन हुनुपर्ने जनादेशअनुसार सुरक्षा चुनौतीलाई सुदृढ गर्दै फागुन २१ मै चुनाव सम्पन्न हुन्छ,‘ गृहमन्त्री अर्यालले भने ।

उनले जेनजी आन्दोलनका सहिदको पहिचान गरी सबैको नामावली राजपत्रमा प्रकाशन भइसकेको जानकारी दिँदै सहिद परिवारलाई राहत उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताए । साथै समृद्धि, विकास र सुशासनका लागि जेनजी पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । जेनजी पुस्ता कुनै दल विशेषको नभई साझा जनशक्ति भएकाले यसको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र विकासमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार शान्ति सुरक्षा र सुशासनमा केन्द्रित रहेको बताए । संघीय सरकारबाट निर्देशन लिनुपर्ने अवस्थाका कारण प्रदेश सरकार शान्ति सुरक्षामा अपेक्षित रूपमा सक्रिय हुन नसकेको उल्लेख गर्दै उनले कर्णालीमा दरबन्दीअनुसार सुरक्षा जनशक्ति नपुगेको समस्या औँल्याए ।

मुख्यमन्त्री कँडेलले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रशासक मात्र नभई सुशासनका पहरेदारका रूपमा काम गर्न निर्देशन दिए । मनपरी भाडा असुली, असुरक्षित यात्रा, लागुऔषधको प्रभाव र दुर्व्यसनी बढ्दो चुनौती भएको भन्दै न्यूनीकरणका लागि संघीय सरकारसँग प्रभावकारी सहयोगको माग गरे ।

गोष्ठीमा गृह सचिव रामेश्वर दङ्गालले कर्णाली प्रदेशको समग्र सुरक्षा अवस्था, चुनौती र समाधानका उपायबारे जानकारी गराए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक टेकेन्द्र कार्की, कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?