टर्कीमा विमान दुर्घटना : लिबियाका सेना प्रमुख अल–हद्दादसहित ५ जनाको मृत्यु

लोकपथ
217
Shares

काठमाडौं । टर्कीमा मंगलबार साँझ भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अलि अहमद अल–हद्दाद मारिएका छन् । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबैबाहले अल–हद्दादसहित अन्य चार जना अधिकारीको पनि मृत्यु भएको पुष्टि गरेका छन् ।

जनरल अल–हद्दाद र उनका टोली अंकाराबाट त्रिपोलीतर्फ उडेको फाल्कन–५० विमानमा सवार थिए । टर्कीका आन्तरिक मन्त्री अलि येरलिकायाले विमान स्थानीय समय अनुसार ८स्५२ बजे सम्पर्कविहीन भएको जानकारी दिए । यो समय विमान उडेको करिब ४२ मिनेटपछि थियो ।

विमानले सम्पर्क टुट्नु अघि आपत्कालीन अवतरणको अनुमति मागेको थियो । पछि अंकाराको दक्षिण–पश्चिमस्थित हायमाना जिल्लाको केसिक्कावाक गाउँ नजिक विमानको भग्नावशेष फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

प्रधानमन्त्री दबैबाहले घटनालाई राष्ट्रका लागि ठुलो क्षति भएको बताएका छन् । उनले भने, ‘देशले इमानदारी र समर्पणका साथ सेवा गरेका व्यक्तिहरू गुमाएको छ ।’

जनरल अल–हद्दाद र उनको टोली टर्की–लिबिया सैन्य तथा सुरक्षा सहकार्य सुदृढ बनाउने उद्देश्यले टर्की पुगेका थिए । सन् २०१९ पछि टर्कीले लिबियामा आफ्नो प्रभाव बढाउँदै आएको छ र दुई देशबिच राजनीतिक, सैन्य तथा आर्थिक सम्बन्ध अझै घनिष्ठ बन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?