काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण समयमा नै टुंगो लगाइ केन्द्रमा पठाउन ताकेता गरेका छन् ।
छोटो कार्यादिनमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाबकाबिच महामन्त्री थापाले सम्बन्धित समितिलाई परिपत्र गर्दै सो ताकेता गरेका हुन् ।
मंगलबार प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापति, गाउँ–नगरपालिका कार्यसमिति सभापति र वडा कार्यसमितिका सभापतिलाई परिपत्र गर्दै समन्वय गरी क्रियाशील वितरणको काम सकेर केन्द्रमा पठाउन भनेका हुन् ।
‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्र अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउनु हुन यो परिपत्र गरिएको छ,’ जारी परिपत्रमा भनिएको छ ।
त्यसो त कतिपय क्षेत्रमा क्रियाशील सदस्यताको फारम क्रम संख्या नराखी पठाइएको भन्दै विवाद भएको थियो । तर महामन्त्री थापाले सो को समस्या समेत हल भइसकेको जानकारी गराएका हुन् ।
‘पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधान बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउने व्यवस्था भएको विदित नै छ । यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम संख्या नभएको फारम समेत वितरण भएको जानकारी प्राप्त भएकोले पुनः क्रम संख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई पठाइसकिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसो त आगामी पुस २६ गतेबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय भएको छ । तर छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्न कठिन हुने भन्दै केही दिन समय थप गरिने समेत तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया