काठमाडौं । जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् ।
यसैबीच, उनको ९२औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ । यस वर्षको सुरुमा देखिएको स्वास्थ्य चिन्तापछि उनको अवस्था हाल नियन्त्रणमा रहेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ ।
सम्राट नारुहितोका पिता अकिहितोलाई मे महिनामा मुटुको मांसपेशीमा पर्याप्त मात्रामा रगत प्रवाह नहुने समस्या देखिएको थियो । तर जुलाईदेखि नयाँ औषधि सुरु गरिएपछि उनको स्वास्थ्य अवस्था स्थिर रहँदै आएको एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उमेरका बाबजुद पनि उनी अझै सक्रिय जीवनशैलीमा रहेको दाबी गरिएको छ । विशेषगरी गोबी माछामाथिको वैज्ञानिक अनुसन्धानमा उनको रुचि कायमै रहेको बताइएको छ । यस क्षेत्रमा उनले अहिलेसम्म १० नयाँ प्रजाति पहिचान गरिसकेका छन् । एजेन्सीका अनुसार उनी हप्तामा दुई पटक दरबार परिसरभित्र रहेको जीवविज्ञान प्रयोगशालामा जानेगरेका छन् ।
सन् २०१९ मा गद्दी त्याग गरेपछि ‘सम्राट एमेरिटस’ को उपाधि धारण गरेका अकिहितोले आफ्नो जन्मदिन परिवारसँगै मनाउने र जापानी प्रधानमन्त्री साने तकाइचीसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
जापानको युद्धकालीन इतिहासप्रति संवेदनशील दृष्टिकोण राख्ने अकिहितोले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष बारम्बार युद्धका पीडित र कठिन समय भोगेका जीवित साक्षीहरूका लागि प्रार्थना गरेका थिए । उनले विगतका पीडालाई स्मरण गर्दै शान्तिको सन्देश दिएका छन् ।
पूर्वसम्राट अकिहितो र महारानी एमेरिटा मिचिकोले ८० वर्षअघिको युद्धसँग सम्बन्धित चार प्रमुख मितिहरू—ओकिनावाको युद्धको अन्त्य, हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोट तथा जापानको आत्मसमर्पणको दिन—मा केहीबेर मौन धारण गरेका थिए । उनले आफ्ना पिता सम्राट हिरोहितोको नाममा लडिएको युद्धलाई कहिल्यै भुल्न नहुने धारणा पनि व्यक्त गरेका थिए ।
अगस्ट महिनामा अकिहितो र उनकी पत्नी मिचिको मध्य जापानको करुइजावा रिसोर्ट पुगेका थिए । यही स्थानमा युद्धका बेला उनी बालक अवस्थामै अस्थायी रूपमा बसाइँ सर्नु परेको थियो र पछि यहीँ दम्पतीबीच प्रेम सम्बन्ध सुरु भएको स्मरणीय इतिहास पनि जोडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया