काठमाडौं । नक्कली शाखा अधिकृत बनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका–२२ झोछे बस्दै आइरहेका २३ वर्षीय समन श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई सोमबार टेकुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका समनले लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति भएको पत्र देखाइ नक्कली कागजात तयार पारी विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने गरेको पाइएको कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार उनको साथबाट विभिन्न सरकारी कार्यालयको नक्कली कागजात समेत बरामद गरिएको छ ।
उनले सिंहदरबार लगायत अन्य सरकारी कार्यालयमा गई शाखा अधिकृतका रुपमा आफ्नो परिचय दिई लाभ लिने गरेको, जागिर लगाइदिन्छु भन्दै झुक्याई फाइदा लिने गरेको खुल्न आएको छ ।
उनको साथबाट बागमती प्रदेश लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति भएको पत्र, शिक्षा मन्त्रालयबाट शाखा अधिकृत पदमा नियुक्त पुष्टि गरेकोसम्बन्धी पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानी लिएको नक्कली पत्र समेत बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया