शीतल निवासको ‘आइस ब्रेक’ वार्ता : के–के भयो छलफल ?

लोकपथ
1.6k
Shares

काठमाडौं । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

‘देशको परिस्थिति गम्भिर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भिरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति पौडेलले सो छलफलमा बताएका थिए ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेका हुन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा थप दबाबमा परेको सरकारले चुनावी वातावरणलाई थप सहज बनाउन राजनीतिक संवादलाई तिव्रता दिइरहेको छ । त्यसो त जेनजी आन्दोलनपछि राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग पहिलोपटक संवाद भएको हो ।

छलफलका लागि प्रधानमन्त्री कार्कीसहित शीर्ष नेताहरु अपरान्ह ३ बजे राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि कुनै पनि शीर्ष नेताहरुसँग नभेट्ने अडान कायम राखिरहे पनि अन्ततः निर्वाचनको वातावरण बनाउन दबाब बढेपछि भेटघाट गरेकी हुन् ।

शीतल निवासको आजको वार्तालाई सरकार र राजनीतिक दलबिच ‘आइस ब्रेक’ का रुपमा समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?