काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान राजनीतिक संकटको निकास निर्वाचनबाट मात्र सम्भव हुने बताउँदै त्यसका लागि पार्टीले गरिसकेको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेका बेला नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान राजनीतिक गतिरोधको समाधान निर्वाचनबाटै सम्भव भएकाले कांग्रेसले सोहीअनुसार जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे ।
पौडेलले पार्टीका सांसदहरूको व्यक्तिगत असन्तुष्टि वा धारणा भन्दा पनि संस्थागत निर्णय नै सर्वोपरि हुने स्पष्ट पारे । उनले भने, ‘हामी चुनावमै लाग्नुपर्छ। देशलाई चुनावतर्फ लैजाने, निष्पक्ष र स्वच्छ ढंगबाट निर्वाचन गराउने वातावरण बनाउने काममा हाम्रो सहयोगी भूमिका हुनुपर्छ । पार्टीले संस्थागत रूपमा निर्णय गरिसकेको विषयलाई कसैले ‘क्रस’ गर्न पाउँदैन ।’
सांसदहरूको कार्यकाल नपुगेको भन्दै अदालतमा हस्ताक्षर बुझाउने विषयलाई उनले नितान्त व्यक्तिगत विषयको संज्ञा दिए । पार्टीले सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेको अवस्थामा त्यस विपरीत जाने अधिकार कसैलाई नरहेको उनको तर्क थियो ।
नेता पौडेलले निर्वाचनमा जानुअघि पार्टीको महाधिवेशन सम्पन्न गर्नु अनिवार्य रहेको पनि बताए । महाधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले ठुलो क्षति व्यहोर्न सक्ने चेतावनी दिँदै उनले एमाले लगायत अन्य दलले अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा कांग्रेसले पनि आफूलाई अद्यावधिक गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।
‘अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले शर्मनाक हार व्यहोर्न सक्छ,‘पौडेलले भने, ‘निर्वाचन जित्नका लागि लडिन्छ। रणनीतिक रूपमा हेर्दा पनि अधिवेशन गरेर निर्वाचनमा जानु नै उपयुक्त हुन्छ ।’
कुराकानीका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग भएको भेटको प्रसंग पनि उल्लेख गरे । पछिल्लो समय देखिएको ‘जेनजी’ आन्दोलन र युवाहरूको धारणा प्रति सभापति देउवा सकारात्मक रहेको उनले बताए ।
सभापतिसँगको कुराकानी उद्धृत गर्दै पौडेलले भने, ‘सभापतिजीले ‘जेनजीले बचायो’ भन्नुभएको थियो । जेनजी आन्दोलन र त्यसबाट उठेका मुद्दाप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक छ ।’
नेता पौडेलले पार्टीलाई व्यवस्थित बनाउन, नयाँ पुस्तालाई आकर्षित गर्न र नीतिगत स्पष्टता दिन महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै तोकिएकै समयसीमाभित्र अधिवेशन प्रक्रिया अघि बढाउन सबै नेताकार्यकर्तालाई आग्रह गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया